कैलाली । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको आज १७ औं दिनमा दाहसंस्कर गर्न लागिएको छ ।
हत्याका आरोपितलाई प्रहरीले पक्राउ गरेर थप प्रमाण समेत जुटाएपछि आज आफन्तले शब बुझेर दाहसंस्कार गर्न लागेका हुन् ।जिल्लाको गोठला पानी बजारदेखि सेरासम्म शवयात्रा निकालेर दाहसंस्कार गरिने भागरथीका दाई केशबराज भट्टले बताए ।
प्रहरीले अभियुक्त दिनेश भट्टलाई बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिसकेको छ । मृतक भागरथीको आफन्त पर्ने दिनेशलाई पक्राउ गरेकोमा परिवारले प्रमाणहरु देखाउनुपर्ने भन्दै यसअघि शव बुझ्न अस्वीकार गरेका थिए ।
तर आरोपीत दिनेशको परिवारका सबै सदस्यहरुसंग बिहिबार एक्लाएक्लै कुरा गर्न लगाइएकोमा सबैका अगाडि दिनेश आफैले बलात्कार र हत्या गरेको स्वीकार गरेका हुन् । दिनेशले आफ्ना बुवासंग समेत ४ घण्टा अलग्गै बसेर कुरा गर्दा सबै घटना आफैले गरेको स्वीकार गरे ।
अभियुक्तले प्रहरी र उनका आफन्तसंग न्यायीक हिरासतमा दिएकै बयानसँग सबै प्रमाणहरु मिल्न गएकाले आज आफुहरु शवको दाहसंस्कार गर्न लागेको मृतकको आफन्तले बताएका छन् ।
प्रतिक्रिया