ताजा समाचार


तोकएकै मितिमा चुनाव हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

द रियल समाचार     २०७७ फाल्गुन ७, शुक्रबार, १०: १२ मा प्रकाशित




काठमाण्डौ । निर्वाचन आयोगले ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ आज पाँचौं निर्वाचन दिवस मनाउँदैछ ।

नेपालमा वि.सं. २०१५ साल फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै २०७३ सालदेखि प्रत्येक वर्ष फागुन ७ गतेलाई निर्वाचन दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले तोकिएकै मितिमा निर्वाचन हुने दावी गरेका छन् । उनले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन मतदाताहरुसँग आह्वानसमेत गरेका हुन् ।

उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् । सरोकारवालाहरुको सक्रिय सहभागिता र सहमतिमा सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्ने गुरुत्तर दायित्व पूरा गर्न आयोग दृढ संकल्पित रहेको उल्लेख समेत गरे ।

उनले भने,‘चुनावलाई आम सहभागितामा सम्पन्न गर्न राजनीतिक वातावरण तयार गर्ने कार्यमा सरकार, राजनीतिक दल, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज, मतदातालगायत निर्वाचनका सबै सरोकारवालाको संलग्नता, सहयोग, समन्वय, सहकार्य र सहभागिता रहनेमा आयोग विश्वस्त छ ।’ आयोगले निर्वाचनको तयारीहरु समेत सुरू गरिसकेको उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top