ताजा समाचार


चिकित्सकको परामर्श शुल्क वृद्धि गर्ने निर्णयप्रति मन्त्रालयको असहमति

द रियल समाचार     २०७७ फाल्गुन ६, बिहीबार, १५: ४८ मा प्रकाशित




काठमाण्डौ । चिकित्सकहरुले विरामीसँग लिने परामर्श शुल्क वृद्धि गरेको निर्णयप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असहमति जनाएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयसँग परामर्श नगरी शुल्क वृद्धि गरिएकोे जिकिर गरे । उनले भने, ‘उहाँहरुलाई शुल्क निर्धारण गर्ने अधिकार छैन । नयाँ शुल्कमा मन्त्रालयको सहमति पनि छैन ।’ शुल्कबारे चिकित्सक संघ, अफिन लगायतसँग छलफल गर्न तयार रहेको मन्त्री त्रिपाठीले बताए ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘माघ ४ गते मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी एक्लौटी रुपमा नेपाल चिकिसत्क संघ र अफिनद्वारा गरिएको मूल्य वृद्धिप्रति मन्त्रालय सहमत छैन ।’

कोरोना महामारीले निम्त्याएको आर्थिक शिथिलतालाई मध्यनजर गरी चिकित्सकहरुको परामर्श शुल्क २०७१ साल भदौ ११ गते मन्त्रालयले तोके अनुसारकै कायम रहेको जानकारी समेत मन्त्रालयले सम्बन्धित पक्षलाई जानकारी गराएको छ ।

नेपाल चिकिसत्क संघ र निजी अस्पतालहरुको छाता संगठन अफिनले बुधबारदेखि लागू हुने गरी विरामी चेकजाँच गर्दा दिने परामर्श शुल्क वृद्धि गरेको थियो । चिकित्सकको परामर्श शुल्क अब ३७० देखि ८२५ रुपैयाँ पुगेको छ । यसमा अस्पतालले २० प्रतिशतसम्म थप शुल्क जोड्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top