ताजा समाचार


मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको कार्यालय अगाडि धर्ना तथा प्रदर्शन

द रियल समाचार     २०७७ फाल्गुन ६, बिहीबार, १४: २४ मा प्रकाशित




काठमाण्डौ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको कार्यालय अगाडि धर्ना तथा प्रदर्शन गरिएको छ ।

एक सातामा दुई पटकसम्म इन्धनको मूल्यवृद्धि गरिएको भन्दै अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले आज नेपाल आयल निगमको केन्द्रिय कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिएको हो ।

बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले दिउँसो बबरमहलस्थित आयल निगम कार्यालय अगाडि धर्ना बसेर नाराबाजी गरेको हो ।

उनीहरु त्यहीँ बसेर ‘बढ्दो महँगी नियन्त्रण गर’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले निगमको कार्यालय घेराउ गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्रसमेत बुझाइने जानकारी दिए ।

नेपाल आयल निगमले पछिल्लो पटक यही फागुन ४ गते डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको थियो ।

त्यसअघि गत माघ २८ गते पनि खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्यवृद्धि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top