ताजा समाचार


दाहाल-नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेर्दै

द रियल समाचार     २०७७ फाल्गुन ६, बिहीबार, १२: १८ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्न लागेको छ ।

सो समूहले घोषणा गरेको चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै अपराह्न ४ बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो ।

मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि प्रचण्ड-माधव समूहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ ।

मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने छ भने भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता-कार्यकर्ताहरु रहने बताइएको छ ।

सो समूहले भोली फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम गर्ने, ७ गतेदेखि १५ गतेसम्म प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन, फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने बताइएको छ ।

फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवं बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम, फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध, फागुन ११ गते मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध, फागुन १२ गते चितवन, फागुन २१ गते दाङ्ग र जनकपुरधाम, नेपालगञ्ज लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा तथा संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवं मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता दिइने भएको छ ।

संघर्ष समितिका सह-संयोजक योगेश भट्टराईले यसअघिका आन्दोलन सफल भएको निचोडसहित अब चौथो चरणको आन्दोलन शुरुवात गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top