काठमाण्डौ । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी नेपालले फागुन ९ गते काठमाण्डौमा विरोधसभा तथा प्रदर्शन गर्न लागेको छ ।
आज काठमाण्डौमा बसेको पार्टी पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनलाई प्रतिगमनकारी कदम भन्दै संघर्षका कार्यक्रमहरुलाई निरन्तरता दिने निर्णय गरिएको जसपाले जनाएको छ ।
जसपा निकट भ्रातृ तथा जनसंगठनहरू र काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला कमिटीले फागुन ९ गते रत्नपार्कमा संयुक्त प्रदर्शन र विरोधसभा गर्ने एक नेताले जानकारी दिए । जसपाले सोहि दिन देशका सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा एकसाथ जनप्रदर्शन र विरोध सभा गर्ने निर्णय समेत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद विघटनको विरोधमा नेकपा दाहाल–नेपाल समूह, नेपाली काँग्रेस र जसपालगायतका दलहरुले निरन्तर विरोध जनाउँदै आएका छन् ।
प्रतिक्रिया