एजेन्सी । भारतको बिहारस्थित सुपौल जिल्लामा एउटा अनौठो घटना भएको छ । २० रुपैयाँको गुटखा एक व्यक्तिको मृत्युको कारण बनेको छ । एकजना किराना व्यापारीले ग्राहकलाई २० रुपैयाँको गुटखा उधारो नदिंदा उनको हत्या गरिएको हो ।
यो घटना बिहारको सुपौल जिल्लास्थित त्रिवेणीगञ्जमा भएको छ । मंगलबार बिहान अजित कुमार नामका एक व्यक्तिले मिथिलेश कुमार नामक युवकलाई गोली हानेर हत्या गरेका छन् । घटनाको एक दिनअघि अपराधी अजितले मिथिलेशको पितासँग विवाद गरेका थिए । अजित उनको पसलमा गएर २० रुपैयाँको गुटखा उधारो मागेका थिए । मिथिलेशका पिताले गुटखा उधारो दिन नमानेपछि दुबैजना बिच विवाद भएको थियो ।
त्यहि विवादका कारण रिसिबी साध्न मंगलबार बिहान अजित आफ्ना अन्य दुईजना साथीलाई लिएर मिथिलेशको पसलमा पुगेका थिए । उनीहरु त्यहाँ गएपछि मिथिलेशका पिता त्यहाँ थिएनन् । पसलमा त्यस समय मिथिलेश बसेका थिए । अजितले मिथिलेशसँग पनि विवाद गरे । दुबैजना बिचको विवादले उग्र रुप लिएपछि अजितले मिथिलेशमाथि गोली प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भयो ।
घटनाको खबर पाएलगत्तै त्रिवेणीगञ्जका प्रहरी घटनास्थल पुगेर छानविन सुरु गरिसकेको छ । सुपौलका एसडिएम शेख हसनले घटनामा संलग्नहरुको पहिचान भईसकेकोले चाँडै पक्राउ गरिने जानकारी दिए ।
प्रतिक्रिया