जनकपुरधाम । प्रदेश २ सरकारले जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उदघाटन गरेको छ ।
प्रादेशिक अस्पतालको प्राङ्गण भित्र प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उदघाटन गरेका हुन् ।
उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्रतिष्ठानको कार्यालयको उदघाटन संगै प्रदेश २ ले स्वास्थ्यको क्षेत्रमा ठूलो खुडकिलो पार गरेको भन्दै खुशी व्यक्त गरेका छन् । उनले प्रदेश २ स्वास्थ्यको सूचकांकमा सातै प्रदेशमध्ये सबैभन्दा पुछारमा रहेको समयमा प्रतिष्ठानको स्थापनाले यसलाई उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने,‘सबै प्रकारको रोगको उपचार एकै अस्पतालमा हुने वर्षौं पुरानो अकांक्षा अब पूरा हुने छ । यो हाम्रो शुरुवात मात्रै हो, विस्तारै यहीँ पनि एमबीबीएस, एमडी लगायतको पढाई हुने छ ।’
मुख्यमन्त्री राउतले आफ्नै गाउँठाउँमा काम गर्ने वातावरण चिकित्सकहरुका लागि नरहेको चर्चा गर्दै यसको मुख्य कारण केन्द्र सरकारको गलत नीति रहेको आरोप लगाए । उनले प्रतिष्ठानको स्थापनासँगै चिकित्सकहरुका लागि आफ्नै गाउँठाउँमा सेवा प्रदान गर्ने वातावरणको निर्माण हुने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेशवासीका लागि ठूलो सपना पूरा भएको बताए । उनले यस प्रतिष्ठानको स्थापनाले प्रदेशका अस्पतालहरुमा हुने चिकित्सक अभाव, एकै ठाउँमा सबै प्रकारका रोगहरुको उपचार नहुनु लगायतको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले अस्पतालहरुमा आवश्यक चिकित्सकहरुको नियुक्ति आफै गर्न सक्नेगरी ऐन निर्माण भईरहेको जानकारी समेत दिए । मन्त्री साहले यस प्रतिष्ठानको स्थापनाले रोजगारीको ठूलो अवसर समेत प्रदान गर्ने बताए ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहले प्रदेश २ मा स्वास्थ्य क्षेत्रको अवस्था दयनीय भएको बताउँदै सेवाको स्तर सुधारको लागि हरसम्भव प्रयासरत रहने प्रतिवद्धता व्यक्त गरे ।
प्रदेश सरकारले माघ १८ गते मुख्यमन्त्री कुलपति रहने प्रतिष्ठानको उपकुलपतिमा डा.राम केवल साह, रजिस्टारमा डा.विनोद यादव र रेक्टरमा डा.अंकुर साहलाई नियुक्त गरेको थियो ।
प्रदेश नम्बर २ को प्रदेशसभाबाट कार्तिक २ गते पारित भई आएको ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश प्रमुख तिलक परियारले गत कार्तिक २५ गते प्रमाणिकरण गरेका थिए ।
प्रतिक्रिया