जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले चौथो चरणको आन्दोलन आजदेखि सुरु भएको छ ।
केन्द्रिय संघर्ष समितिले पार्टी कार्यालय पेरिसडाँडामा आइतबार पत्रकार सम्मेलन गरेर आन्दोलनका थप कार्यक्रमहरु घोषणा गरेअनुरुप आजदेखि चौथो चरणको आन्दोलनका कार्यक्रमहरु शुरु गरिएको हो ।
सो समूहले आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीहरुको आयोजनामा जिल्लाहरूमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्न लागेको छ । त्यस्तै भोली प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो गरिन भएको छ ।
फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम गर्ने, ७ गतेदेखि १५ गतेसम्म प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन, फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने बताइएको छ ।
फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवं बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम, फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध, फागुन ११ गते मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध, फागुन १२ गते चितवन, फागुन २१ गते दाङ्ग र जनकपुरधाम, नेपालगञ्ज लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा तथा संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवं मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता दिइने भएको छ ।
संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले यसअघिका आन्दोलन सफल भएको निचोडसहित अब चौथो चरणको आन्दोलन शुरुवात गरिएको बताए ।
प्रतिक्रिया