एजेन्सी । भारतको मध्य प्रदेशमा सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको हो ।
भारतीय सञ्चारमाध्यशमहरुका अनुसार सीधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनमा मंगलबार बिहान नेपाली समयानुसार बिहान ७ बजेर ५० मिनेटमा पुलबाट २२ फिट तल वाणसागर परियोजनाको नहरमा खसेको थियो ।
सडकमा साइड लगाउने क्रममा सो बस पुलबाट तल नहरमा खसेको बताइएको छ । प्रदेश सरकार जनसम्पर्क विभागका अनुसार हालसम्म नहरबाट ५१ जनाको शव निकालिएको छ ।
नहरमा खसेका ७ जना यात्रु र बसका चालक भने पौडेर बाँच्न सफल भएका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
३२ सीट क्षमता भएको बसमा ६२ जना सवार रहेको बताइएको छ ।
प्रतिक्रिया