जनकपुरधाम । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको ३ वर्षे कार्यकाल पूर्ण रूपमा सफल भएको दाबी गरिरहँदा प्रतिपक्षी दलहरुले भने असन्तुष्टि जनाएका छन् ।
प्रदेश सरकारको ३ वर्षे कार्यकाल पूरा भएको अवसरमा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको प्रदेश २ सरकारको ३ वर्षको उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा बोल्दै राउतले यस्तो दाबी गरेपछि प्रतिपक्ष दलका नेताहरुले भने असन्तुष्टि जनाएका हुन् ।
प्रतिपक्ष दलका नेताहरुले सरकारको ३ वर्षे कार्यकाल गफगाफ र भ्रष्टाचारमै बितेको आरोप लगाउँछन । उनीहरुले प्रदेश सरकारले टुक्रे योजनाहरुलाई समेत आफ्नो उपलब्धीकै रुपमा भनेपछि यस्तो बताएका हुन् । सरकारलाई भ्रष्टाचारीको संज्ञा दिदैं उनीहरुले सरकार पूर्ण रुपमा असफल रहेको जिकिर गरेका छन् । प्रतिपक्षी दलका नेताहरुले प्रदेश सरकारले ३ वर्षे कार्यकालमा जनताले देखिने गरी परिणाममुखी काम भन्दा पनि कार्यकर्ता पाल्न बाहेक केही गर्न नसकेको आरोप लगाए ।
नेपाली काँग्रेसका संसदीय दलका नेता राम सरोज यादवले सरकारले सार्वजनिक गरेको ३ वर्षको उपलब्धी गफको पुलिन्दा र भ्रष्टाचारको पराकाष्ठा बाहेक केही नरहेको बताउँछन् । विकासको सिद्धान्तबाट सरकार विचलित भएको बताउँदै पिछडिएको क्षेत्रमा लगानी हुनुपर्नेमा त्यो नगरेर कमीशनका लागि आफ्ना दलका नेता कार्यकर्ताहरु मार्फत उपभोक्ता समिति बनाएर काम गराउनु भनेको बजेटको दुरुपयोग बाहेक केही नरहेको उनले आरोप लगाए ।
यादवले भने,‘प्रदेश सरकार मठ मन्दिर, पोखरीको सौन्दर्यीकरण, पिसिसी ढलान, ग्राभेल लगायतका वडा कार्यालयले गर्ने खुद्रा काम गरेर युद्ध जिते जस्तै उपलब्धीको रुपमा गिन्ती गरिरहेका छन । आम जनताले प्रत्यक्ष रुपमा लाभान्वित हुनसक्ने वा तिनीहरुको जिवन उक्सान आयआर्जन तथा शिक्षा स्वास्थ्यमा प्रदेश २ सरकारले एउटापनि उपलब्धिमुलक काम गर्न सकेको छैन् ।’
कोरोना रोकथाम तथा नियन्त्रणको नाममा मास्कदेखि पिसीआर मेसिन लगायतका सामग्री खरीद र क्वारेन्टाइन तथा आइसोलेशनको नाममा करोडौं रकम खर्चिएको सरकारले बताउँदै आएपनि सत्तारुढ दलका नेता कार्यकर्ता बाहेक आम नागरिकले कुनै लाभ लिन नसकेको नेता यादवको दाबी छ । कोरोना नियन्त्रणका लागि सामग्री खरीदमा करोडौंको भ्रष्टाचार भयो, मिडिया र प्रतिपक्ष चिच्याइरहेपनि भ्रष्टाचारीहरुलाई कारवाही त परै जाओस सरकारले छानबीन समेत गर्न सकेन,उनले भने ।
उनले प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियान सुरु भएपनि त्यो अभियान साइकल वितरणमै सिमित रहेको जिकिर गरे । उनले भने,‘प्रदेशमा बलात्कार लगायतका महिला हिंसा झन बढेको छ, शान्ति सुरक्षाका लागि प्रदेश प्रहरी गठन भएपनि अपराधिक क्रियाकलाप निरन्तर बढिरहेको छ ।’
त्यस्तै, नेकपा दाहाल–नेपाल समूहका संसदीय दलका नेता शत्रुधन महतोले प्रदेश सरकार ओली भन्दा पनि ठूलो गफारी रहेको बताउँछन् । मुख्यमन्त्री लालबाबु राउतले जनतालाई ठूला ठूला सपना देखाएपनि उनको काम भने शुन्यमै सिमित रहेको उनको आरोप छ । महतोले भने,‘प्रदेश सरकारले ३ वर्षमा कुनै उपलब्धी हासिल गर्न सकेको छैन् । जनताको बलिदानीको बलमा निर्माण भएको सरकारले अहिलेसम्म प्रदेशको कुनै नामाकरण समेत नगरि दुई नम्बरी प्रदेशमै सिमित राखेका छन् । ३ वर्ष बितिसक्दा समेत प्रदेश सरकारले न त नाम दिन सकेको छ न राजधानी नै टुंगो लगाउन सकेको छ ।’
विकासको कामहरु समेत सरकारले कति गरेका छन् त्यो पनि सबैसामु छर्लङ्ग छ,उनले भने,‘ शहीद परिवारलाई एक परिवार एक रोजगार, साना मmझौला उद्योग स्थापना, कृषिमा हरित क्रान्ति लगायतका ठूलठूला सपना देखाएपनि उपलब्धी हेर्दा त गफाडी बाहेक केही छैन् ।’
यता, नेकपा ओली समूहका नेता एवं प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले समेत प्रदेश सरकार कमिशनका लागि खुद्रा योजनामा मात्र सिमित हुन गएको बताउँछन । प्रदेशको नाममा विवाद रहेपनि राजधानीमा सबै दल एकमत रहेको तर सत्तारुढ दलकै अवरोधले जनकपुरधाम अहिलेसम्म स्थायी राजधानी बन्न नसकेको उनी बताउँछन् । आफ्नै पार्टीका नेता सांसदलाई समेटन नसक्नु प्रदेश सरकारको ठूलो असफलता रहेको उनले बताए ।
उनले भने,‘सरकारको ठूलो सफलताको रुपमा भनिएको बेटी पढाउ, बेटी बचाउ अभियानमा साईकल वितरण र दुई/चार रुपैयाँ बाँडेर सस्तो लोकप्रियता कमाउन बाहेक केही गरिएको छैन् । त्यस्तै, चुरे क्षेत्रमा ५ करोड लगानी गरेपनि त्यसको परिणामबाट जनता अहिलेपनि अनभिज्ञ छन् ।’
प्रतिक्रिया