भारत । भारतमा एक ११ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएका प्रधानाध्यापकलाई फाँसीको सजाय सुनाइएको छ ।
कक्षा ५ मा अध्ययनरत सो बालिकालाई जबर्जस्ती करणी गरेर गर्भवती बनाएको भन्दै पट्नास्थित एक विद्यालयका प्रधानाध्यापक अरविन्द कुमारलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।
बालिका गर्भवती भएपछि घटना सार्वजनिक भएको थियो । बालिकाले आफ्नी आमालाई पेट दुखेको बताएपछि अस्पतालमा उनी गर्भवती भएको पत्ता लागेको थियो । त्यसपछि बालिकाले प्रधानाध्यापकले उनको कक्षमै आफूमाथि जबर्जस्ती करणी गरेको खुलासा गरेकी थिइन् ।
प्रधानाध्यापकलाई त्यहाँको नागरिक अदालतले फाँसीको सजाय सुनाएको एनडीटीभीले जनाएको छ । घटनामा सहयोगीको भूमिका खेलेको पुष्टि भएपछि सोही विद्यालयका एक प्रशासनिक कर्मचारी अभिषेकलाई समेत जन्मकैदको फैसला सुनाइएको छ ।
यो घटना झन्डै ३ वर्ष अघिको हो । अदालतले जरिवाना स्वरुप प्रधानाध्यापकलाई १ लाख रुपैयाँ र अर्का कर्मचारीलाई ५० हजार पनि तिराएको छ । पटनाको फुलवारीसरिफ क्षेत्रको न्यु सेन्ट्रल पब्लिक स्कुलमा सन् २०१८ को सेप्टेम्बरमा यो घटना घटेको थियो ।
प्रतिक्रिया