जनकपुरधाम । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी आज जनकपुरधाम सहित देशभर विद्याकी देवी माता सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ ।
वसन्त पञ्चमी पनि भनिने यस दिन सरस्वतीको पूजा आराधना गरे विद्या, बुद्धि बढ्ने विश्वास छ ।
आजका दिन साना बालबालिकालाई लेखपढ गर्न सिकाए विद्या र बुद्धि बढ्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने जनविश्वास छ । साना बालबालिकालाई आजकै दिनदेखि विद्यालय पठाउने, अक्षरारम्भ गराउने र नाक, कान छेडिदिने चलन छ ।
जनकपुरधामका हरेक सामुदायिक तथा नीजि विद्यालय, क्याम्पस, कोचिङ्ग सेन्टरहरु, शैक्षिक संस्थालगायत प्रायः हरेक चौकहरुमा युवा क्लवका युवाहरुले सरस्वतीको प्रतिमा राखी पूजापाठ गरिरहेका छन् । सरस्वती पूजामा घुमघाम गर्नका नयाँ नयाँ लूगा खरिद गर्न हिजोदेखि नै बजारमा भीड देखिएको छ । प्रायः सबै कपडा पसलहरुमा बिद्यार्थीहरुको नै भीड देखियो ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘बसन्त पञ्चमी’ भन्ने गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले बसन्त श्रवण गर्ने छन् ।
काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले तथा अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा पूजाआजा गर्न छात्रछात्राको घुइँचो लागेको छ । साथै विद्यालय र क्याम्पसहरुले पनि सरस्वती पूजाको विशेष कार्यक्रम राख्ने गरेका छन् ।
प्रतिक्रिया