ताजा समाचार


नेपालबाट भारतमा डिजेल चोरीपैठारी गर्ने ३ जना ट्याङ्करसहित पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन ३, सोमबार, २२: ३७ मा प्रकाशित




पर्सा । नेपालबाट भारतमा डिजेल चोरीपैठारी गर्ने ३ जना ट्याङ्करसहित पक्राउ परेका छन् ।

उनीहरुलाई वीरगञ्जस्थित नेपाल भारत संयुक्त भन्सार जाँच चौकी (आइसिपी ) नजिकबाट रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका वडा नम्बर-२२ का ३४ वर्षीय शम्भुप्रसाद महतो, मकवानपुर जिल्ला राक्सीराङ्ग गाउँपालिका वडा नम्बर-३ का २१ वर्षीय अशोक पाख्रिन र मनहरी गाउँपालिका वडा नम्बर-३ का ३३ वर्षीय रामकृष्ण उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

उनीहरूलाई डिजेल चोरी गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए।

अभियुक्तहरुलाई ना.७ ख.१५११ नम्बरको ट्यांकरमा लोड गरी पर्साको जगरनाथपुरस्थित स्वेता आयल ट्रेडर्सबाट १ हजार ३ सय ६० लिटर डिजेल भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको डिएसपी कुँवरले जानकारी दिए।

पक्राउ परेकाहरु मध्ये उप्रेती सोही ट्यांकरका चालक, पाख्रिन सहचालक तथा महतो स्वेता आयल ट्रेडर्सको मुन्सी रहेको प्रहरीले जनाएको छ।

नेपालमाभन्दा भारतमा डिजेलको मूल्य महँगो भएपछि नेपालमा आइसकेको तेल चोरी गरेर भारततर्फ लैजाने गिरोह सीमा क्षेत्रमा सक्रिय भएको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top