जनकपुरधाम । संसद विघटन विरुद्व नेपाली काँग्रेसका जिल्ला कार्यसमितिहरुले सदरमुकामहरुमा विरोध प्रदर्शन गरेको छ ।
माघ १३ गते बसेको काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकले संघर्षका थप कार्यक्रमहरु घोषणा गरेअनुरुप आज पार्टीका जिल्ला कार्यसमितिहरुले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले पेशाकर्मीलाई बनाइयो आहत महामारीमा पनि दिइएन राहत, संघीय शिक्षा ऐन खारेज गर, विधिको शासन कायम गर, मानवअधिकारको रक्षा गर, सबै श्रमीकहरुको स्थानीयतहमा पञ्जीकरण गर, सबैलाई सामाजिक सुरक्षा लागु गर, बेरोजगार बिमा लागु गर, पेशाकर्मीले चिन्यो वर्तमान सरकार, महामारीमा पनि भ्रष्टाचार’ लेखेका प्लेकार्ड बोकेका थिए ।
धनुषामा पार्टी सभापति महेश शंकर गिरीको नेतृत्वमा निस्केको विरोध जुलुसमा उपसभापति सन्तोष यादव, केन्द्रिय सदस्य रामकृष्ण यादव, प्रदेश २ का संसदीय दलका नेता राम सरोज यादव, संघिय सांसद स्मृतिनारायण चौधरी, पूर्व संबिधानसभा सदस्य मिनाक्षी झालगायतकाहरुको सहभागिता रहेको थियो ।
यसअघि नेपाली काँग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्र, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७५३ वटै पालिका,माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ भने पार्टीका भातृ संगठन तथा शुभेच्छुक संस्थाहरुले समेत विरोध प्रदर्शन गरेको थियो ।
प्रतिक्रिया