सप्तरी । सप्तरीमा बहुबिबाह मुद्दामा अदालतबाट कैद जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ७ बस्ने करिव २८ वर्षीय उमेश चौधरी छन् ।
चौधरीकी जेठी पत्नी २१ वर्षीया पुनिता चौधरीले उनी विरुद्ध बहुविवाहको जाहेरी दिएकी थिइन् । जाहेरी दर्तापछि २०७६ साल भदौ ५ गते उमेशलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनी भदौ ३० गते ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
सोही मुद्दामा जिल्ला अदालतले २०७६ साल पुस ८ गते उनीमाथि ५ हजार जरिवाना र ११ महिना १२ दिन कैद हुने आदेश दिएको थियो । अदालतको आदेशपछि फरार भएका उमेशलाई घरबाटै पक्राउ गरिएको हो ।
उनलाई जिल्ला अदालतमा दाखिला गराएर कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिए ।
प्रतिक्रिया