जनकपुरधाम । प्रदेश २ मा पनि नाका खोल्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन् ।
प्रदेश २ का वीरगन्ज (पर्सा), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिठ्ठामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा), सिम्रौनगढ (बारा), माडर (सिरहा), गौर (रौतहट) गरी ११ नाका खोल्ने निर्णय भएको हो । तर, यी नाकाबाट सर्वसाधारणले सहजै आउजाउ गर्न पाएका छैनन् ।
‘नाका के–कति खोल्ने, नखोल्नेबारे प्रमुख जिल्ला अधिकारीको निर्देशनका आधारमा हामीले सुरक्षाकर्मीलाई व्यवहार गर्न भनेका हुन्छौँ’, प्रदेश २ का सशस्त्र प्रहरी बलका डीआईजी चन्द्रप्रकाश गौतम भन्छन् । वीरगन्ज नाकामा मानिसको आउजाउ हुन थाले पनि मालवाहकबाहेक अन्य सवारी साधनलाई सुरक्षाकर्मीले फिर्ता पठाइदिने गरेका छन् । जसकारण नेपाल आउन चाहने भारतीय दसगजा क्षेत्रमै सवारी साधन थन्क्याएर पैदल वीरगन्ज आउजाउ गर्न बाध्य छन् ।
वीरगन्जको इनर्वास्थित सीमा प्रहरी चौकीका प्रमुख प्रहरी नायब उपरीक्षक पूर्ण दाहाल मालवाहकबाहेकका भारतीय सवारी साधन प्रवेश गर्न नदिने निर्देशन रहेको सुनाउँछन् । ‘नाका खुलेको भनेर कुनै आधिकारिक निर्देशन हामीलाई छैन् । मालवाहकबाहेक अन्य सवारी साधनलाई नाकामै रोकेर फिर्ता पठाइदिने गरेका छौँ’, दाहाल भन्छन् । विवाह, उपचारजस्ता अत्यावश्यक कामका लागि आएका सवारी साधनलाई भने आउजाउ गर्न दिइरहेको उनको भनाइ छ ।
पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल गृह मन्त्रालयबाट आधिकारिक रूपमा कुनै निर्देशन वा परिपत्र नआएकाले नाका बन्द नै रहेको बताउँछन् । ‘सरकारले वीरगन्जसहित ३० वटा नाका खोल्ने निर्णय ग¥यो भन्नेबारे हामीले पनि मिडियामार्फत सुनेका हौँ’, पौडेल भन्छन्, ‘तर, अहिलेसम्म गृहबाट यस विषयमा कुनै परिपत्र आइपुगेको छैन । त्यसैले नाका खुलिसक्यो भन्ने अवस्था छैन ।’ भारतले कात्तिक ६ गतेदेखि एकतर्फी आफ्नो नाका खोलेको थियो । त्यसपछि वीरगन्ज–रक्सौल नाकाबाट आवागमन हुन थालेको उनको भनाइ छ ।
सिरहास्थित माडर नाकाबाट पैदल यात्रु आवागमन गर्न पाएका छन् । यसबाहेक ठाडी, लदनियाबाट लुकीछिपी आउजाउ चलिरहेको छ । सवारीसहित आउजाउ गर्न रोक लगाइएकै छ । नाकाबाट आउजाउ सहज नभएको भगवानपुर गाउँपालिका ठाडीका लक्ष्मी यादव बताउँछन् । ‘विवाह र सामान ल्याउन पनि समस्या भइरहेको छ । सिरहामा एक मात्रै नाका खोल्यो । हाम्रो नजिकको खोलिएको छैन् । आवागमनमा कठिनाइ भोग्नुपरिहेको छ’, उनी भन्छन्, ‘कोरोनाले गर्दा अहिलेसम्म सीमा क्षेत्रमा व्यवसाय खस्केकै छ ।’
सीमा नाका अझै बन्द भनिए पनि लुकीछिपी वारिपारि गरिरहेको ठाडीका कन्हैया भट्ट सुनाउँछन् । ‘दिनहुँ नाकाभन्दा वैकल्पिक बाटोमा भारत–नेपाल भइरहेको छ । सरकारले जनतालाई सहज हुनुपर्ने वातावरण मिलाइदिनुपर्छ’, उनी भन्छन् ।mतोकिएको नाकामा आवागमनमा कुनै कठिनाइ नरहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल बताउँछन् । ‘पैदल यात्रुका लागि सहज रूपमा आवतजावत भइरहेको छ । सवारी साधन भने रोकिन्छ’, कणेल भन्छन् । पैठारी खुला नगरिए पनि मालवाहक सवारी भन्सार कटाएर आउनेरजाने भइरहेको माडर भन्सार कार्यालयका प्रमुख जगदीश पूर्वे बताउँछन् ।
सवारी चालकलाई सीमामै स्थापना गरिएका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरी आवतजावत गर्न दिइएको उनको भनाइ छ । सर्वसाधारणलाई विवाह, आवश्यक सरसामान ल्याउन भारतीय सुरक्षाकर्मीसँग पनि सहजीकरण गरी सहयोग गरिरहेको सशस्त्र प्रहरी सिरहाका एसपी दीपेन्द्र गिरी बताउँछन् । जनकपुरको जानकी मन्दिरमा पर्वत्योहारका बेला मेला भर्न आउने भारतीय पर्यटकको भीड हुन्थ्यो । बजारमा किनमेल गर्नेहरू बढ्थे । होटलमा बस्ने ठाउँ हुँदैनथ्यो । तर, हाल व्यापार निकै खस्किएको जनकपुरका व्यवसायी अनिल साह बताउँछन् । कोरोना महाकारी र लकडाउनका कारण थलिएको सीमा क्षेत्रको होटल तथा पर्यटन व्यवसाय भारतीय पर्यटक नआउँदा धराशयी बनेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्त बताउँछन् ।
कोरोना महामारीमा बन्द भएका होटल लकडाउन खुलेपछि पुनः लयमा फर्किने अपेक्षा गरिएको थियो । तर, नाकामा भारतीय सवारी साधन प्रवेशमा अहिले पनि रोक लगाइएकाले होटल तथा पर्यटन व्यवसाय चौपट भएको अध्यक्ष पन्त बताउँछन् । ‘पर्सा बारामा रहेका होटलका ९० प्रतिशतभन्दा बढी ग्राहक भारतीय पर्यटक नै हुन्’, उनी भन्छन्, ‘एक त लकडाउनमा झण्डै ८ महिना यहाँका सबै होटल बन्द भए । माघ ११ मा सरकारले नाका खोल्यो भनेपछि व्यवसाय पुनः लयमा फर्किन्छ भन्ने अपेक्षा थियो । तर, हालत उही लकडाउनकै जस्तो छ । भारतीय पर्यटक नआउँदा होटलको खर्च धान्न पनि धौधौ छ ।’
सरकारले नाका खोलेको भने पनि नेपाल प्रवेश गर्ने झन्झटिलो प्रक्रिया र नाकामा खटिएका सुरक्षाकर्मीले दुःख दिने गरेका कारण भारतबाट पर्यटक आउन नसकेको बाराका होटल व्यवसायी एवं आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश २ का सहसंयोजक मोहन शर्मा लामिछाने बताउँछन् ।
भारतीय पर्यटकको हकमा सरकारले निर्दिष्ट गरेको नियम प्रक्रिया एकदमै झन्झटिलो रहेको सहसंयोजक शर्माको भनाइ छ ।
–अन्नपुर्ण पोष्ट
प्रतिक्रिया