ताजा समाचार


प्रदेश २ सरकारको ३ बर्षे कार्यकाल कस्तो ? (पूर्ण पाठ सहित)

द रियल समाचार     २०७७ फाल्गुन ३, सोमबार, १४: ३१ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको ३ बर्षे कार्यकाल पूर्ण रुपमा सफल भएको दाबी गरेका छन् ।

आज प्रदेश सरकारको ३ वर्षे कार्यकाल पूरा भएको अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपषिदको कार्यालयले आयोजना गरेको प्रदेश २ सरकारको ३ वर्षको उपलब्धी सार्वजनिकीकरण कार्यक्रममा बोल्दै राउतले सो कुरा बताएका हुन् ।

प्रदेश २ सरकारको ३ वर्ष पूरा भएको अवसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी मुख्यमन्त्री राउतले संघीय सरकारको असहयोगका बाबजुद आफ्नो कार्यकाल सफल रहेको दाबी गरे । संघीयतालाई असफल पार्ने तत्वहरु सक्रिय रहेको समयमा प्रदेश सरकार संघीयतालाई संस्थागत गर्न तर्फ अगाडी बढिरहेकोले आफ्नो नेतृत्वको सरकार सफल रहेको उनले बताए ।

उनले भने,‘संघ सरकारको तर्फबाट असहयोग भईरहेको छ, प्रदेशका अधिकारहरु कटौती गरिँदैछ त्यसबिरुद्ध हामीहरु आवाज उठाइरहेका छौँ ।’ देशमा संघीयता र प्रदेश २ सफल भए मात्रै संघीयताको रक्षा हुने बताउँदै मुख्यमन्त्री राउतले संघीयता संस्थागत गर्न प्रदेश सरकार लागिपरेको बताए । मुख्यमन्त्री राउतले यो सरकार आफ्नो कार्यकाल अवधिसम्म रहने दाबी गरेका छन् । उनले जनताको म्याण्डेटबाट बनेको सरकार रहेकोले सरकारले ५ वर्ष पूरा गर्ने बताए ।

राजनैतिक उपलब्धिको रक्षा, सुदृढिकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका माध्यमबाट प्रदेशका जनताको सर्वोत्तम हित र समुन्नति प्रत्याभूत गर्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । उनले प्रदेश नम्बर २ मा जन्मिएका छोरीहरुको सुरक्षा, शिक्षा र सशक्तिकरणका लागि बेटी पढाउ, बेटी बचाउ कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताए ।

उनले भने,‘यस कार्यक्रम अन्तर्गत हालसम्म ६ हजार ९ सय ६ जना छोरीहरुलाई २० वर्ष पछि ३ लाख पाउने गरी छोरी बीमा र मुद्दति खाता खोली प्रदेश सरकारबाट रकम जम्मा गरिएको छ । हालसम्म यस प्रदेशमा २६ हजार ९ सय ५६ जना छोरीहरुको तथ्याङ्क संकलन गरिएको छ ।’ त्यस्तै, छोरीलाई विद्यालयमा पहुंच पुर्याउन र प्रोत्साहित गर्ने उद्देश्यले २४१ वटा सामुदायिक विद्यालयमा १४ हजार साईकल वितरण गरिएको र सोही कार्यक्रम अन्तर्गत थप २० हजार साईकल वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको उनले बताए । सामुदायिक विद्यालयमा अध्ययन गरी एसइई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्न सफल ८ वटै जिल्लाका उत्कृष्ट २८ जना छात्राहरुलाई जनही प्रथम, द्वितीय र तृतियलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रकम प्रदान गरिएको छ ।

प्रदेशका ८ वटै जिल्लाका सामुदायिक विद्यालयहरुमा छात्रामैत्री शौचालयको अभावको समस्या समाधान गर्न तथा विद्यालयमा छात्राहरुको पढाइलाई निरन्तरता बढाउने उद्देश्यले १ सय सामुदायिक विद्यालयहरुमा छात्रामैत्री शौचालय निर्माण गरिएको उनले दाबी गरे । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत धार्मिक पर्यटनलाई बढावा दिन प्रदेशस्थित विभिन्न समुदायमा गौरवको रुपमा रहेको जानकी मन्दिर, रौजा मजार, छिन्नमस्ता भगवती, सहलेश स्थान, पारशनाथ, भिसवा बौद्ध गुम्बाहरुको संरक्षण तथा सौन्दर्यीकरणको कार्य अगाडि बढाइएको बताए ।
हालसम्म प्रदेश प्रमुखबाट ३९ वटा विधेयक प्रमाणित भई कार्यान्वयनमा आएको र २२ वटा विधेयक प्रदेश सभाको विधायन समितिमा विचाराधीन अवस्थामा रहेको उनले जानकारी दिए ।

प्रदेश सरकार स्थापना भएदेखि हालसम्म सेवा प्रवाह तथा विकास गतिविधि सञ्चालन गर्न १ खर्ब ७ अर्ब बजेट व्यवस्था गरिएको उनले जानकारी दिए । प्रदेश सरकार तथा स्थानीय तहबीच सहकार्य समन्वय तथा साझेदारीको भावना अभिबृद्धि गर्न प्रदेश भित्रका १३६ स्थानीय तहहरुलाई यस अवधिमा वित्तीय हस्तान्तरण मार्फत ४ अर्ब ७७ करोड समानीकरण, सशर्त, समपुरक र विशेष अनुदान तथा राजश्व बाँडफाँडबाट उपलब्ध गराइएको बताए ।

प्रदेशलाई प्राविधिक शिक्षाको हव बनाउन ६४ वटै निर्वाचन क्षेत्रमा प्राबिधिक बिद्यालय संचालनको पूर्व तयारी गरिएको तथा प्रदेशको गौरवको आयोजनाको रुपमा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको निर्माणका लागि बाराको झिट्कैयामा प्रारम्भिक कार्य शुरु गरिएको सरकारको कथन छ । जानकी मन्दिरको सौन्दर्यीकरणको काम अन्तिम चरणमा पुगेको र धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा सम्र्बद्वन गर्ने उद्देश्यले प्रदेश २ का विभिन्न स्थानमा रहेका सांस्कृतिक सम्पदाहरुको सौन्दर्यीकरण गर्ने कार्य भइरहेको छ ।

चुरे जोगाउ मधेश वचाउ नीति अनुरुप ‘समृद्घि का लागि वन परियोजना’ स्वीकृत भई प्रदेश भित्रको २५ वटा पालिकामा लागू हुने गरी कार्य अघि बढाइएको उनले दाबी गरे । ८ वटै जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयहरुलाई खाद्यान्न खरिद गर्न प्रत्येक जिल्लालाई २ करोडका दरले १६ करोडको खाद्य सामग्री खरिद गरी १३६ वटै स्थानीय तहका वडा अध्यक्षहरुलाई हस्तान्तरण गराइएको उनले बताए ।

संघीय संरचनाको प्रारम्भिक चरणमा कार्य सम्पादनका लागि अत्यावश्यक पर्ने कानूनी संरचनाको अपर्याप्तता, सांगठानिक सक्षमता र प्रर्याप्ततामा कमी, वित्तीय स्रोतसाधनको कमी, संघ, प्रदेश तथा स्थानीय तह बीचको समन्वयात्मक अन्तरसम्बन्धमा स्पष्टताको अभाव लगायतका समस्या एवं चुनौतीका बाबजुद पनि प्रदेश सरकार समग्र प्रदेशको समृद्धि र विकासका लागि क्रियाशील रहेको मुख्यमन्त्री राउतले दाबी गरेका छन् ।

पूर्ण पाठ हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् 

Provincial-Government-achievements-3-years-V1.13

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top