ताजा समाचार


मन्त्री रायद्वारा तिरहुतिया गाछीको निरिक्षण, डिपिआर तयार गर्न निर्देशन

द रियल समाचार     २०७७ फाल्गुन २, आईतवार, १९: ११ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीको निरिक्षण गरेका छन् ।

जनकपुरधामको गौरवको रुपमा रहेको तिरहुतिया गाछी फोहोर विसर्जन स्थलको रुपमा परिणत भएको जनगुनासो बढ्न थालेपछि यसलाई पुनः पूरानै रुपमा ल्याउनका लागि निरिक्षण गरिएको बताइएको छ । तिरहुत राज्यका बेला तिरहुत सेनाले विश्राम गर्ने थलो भनेर चिनिएको जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीको अस्तित्व अहिले संकटमा परेकोले यसलाई पुनः पूरानै अवस्थामा फर्काइने राज्यमन्त्री सुरेश मण्डलले बताए ।

मन्त्री रायले तिरहुतिया गाछीको ऐतिहासिकतालाई बचाई राख्नका लागि यसको पुननिर्माण गर्नुपर्ने आवश्यकता रहेकोले यसका लागि डिभिजन वन कार्यालयका डिएफओ सुनिल कर्णलाई तत्कालै डिपिआर तयार गर्न निर्देशन दिएका छन् । उनले जनकपुरधाममा पर्याप्त व्यवस्थित उद्यान र मनोरञ्जन पार्कहरु नरहेकोले यसको निर्माणमा आफ्नो मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

२०६७ सालतिर बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले यो क्षेत्र जोगाउन पर्खाल र प्रवेशद्वार निर्माण गरेको थियो । २०७३ मा पनि वन कार्यालयले उद्यान संरक्षणका लागि ६ लाख र उपमहानगरले १० लाख रुपैयाँ उपलब्ध गराएको थियो । जसबाट उद्यानभित्र मर्निङ वाक गर्न, ट्रयाक तथा चौतारा निर्माण, सर्वसाधारणलाई बस्न थुप्रै सेड निर्माण र फोहोर सफाइको काम भएको जनाइएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक रमेश सिंहको पहलमा उद्यान सौन्दर्यीकरणका लागि २ करोड रकमसमेत डिभिजन कार्यालयमार्फत विनियोजन गरिएको थियो । तर, ती काम विभिन्न दलका व्यक्ति र व्यापारीले दुई वर्षभित्रै समितिमा अवरोध सिर्जना गर्न थाले । उद्यान निर्माण भयो भने समितिका पदाधिकारीले जस पाउने भन्दै केही व्यक्तिको दबाबमा तत्कालीन प्रमुख जिल्ला अधिकारीको पहलमा सर्वदलीय बैठक गरी ऐतिहासिक उद्यानलाई विभिन्न कार्यक्रम गर्ने थलो बनाइनुपर्नेमा दवाव दिइयो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित यो ठाउँ संरक्षणको प्रयास भएपनि केही नेता र व्यापारीको दबाबका कारण साढे चार बिग्घा क्षेत्रफलमा फैलिएको उद्यानस्थल अहिले जनकपुरधाम उपमहानगरपालिका कार्यालयको माटो र ग्राभेल थुपार्ने थलो बनेको छ ।विगतमा यसको क्षेत्रफल मुरली चोक, कदम चोक, शुक्रबारी हटियाबाट राम चोकसम्म रहेपनि शहर विस्तारका क्रममा जग्गा अतिक्रमण बढ्दै गएपछि अहिले साढे चार बिग्घामा सीमित हुन पुगेको छ ।

निरिक्षणमा मन्त्री रायसँगै राज्यमन्त्री सुरेश मण्डल, प्रदेशसभा सदस्य परमेश्वर साह, जसपाका केन्द्रिय सदस्य उमेश मण्डल, सतिश लाल दास, वडाध्यक्ष सुदर्शन सिंह, वन मन्त्रालयका सुरेश शर्मा, मिथिला वाइल्ड लाइफ ट्रस्टका देवनारायण मण्डल, वडा नम्बर–४ का वडा सदस्य पंकज मण्डललगायतकाहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top