ताजा समाचार


महिलाहरु समृद्ध हुनु आवश्यक : मन्त्री महतो

द रियल समाचार     २०७७ फाल्गुन २, आईतवार, १६: १९ मा प्रकाशित




जनकपुरधाम । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले कुनै देश वा समाजलाई समृद्ध बनाउनका लागि महिलाहरु समृद्ध तथा खुशी हुनु आवश्यक रहेको बताएकी छन् ।

जनकपुरधाममा आजदेखि सुरु भएको महिला हस्तकला मेला तथा प्रदर्शनीको उदघाटन गर्दै मन्त्री महतोले महिलाहरुको सीप तथा कला प्रदर्शनीका लागि स्थानीय तहरुलाई समेत महिलासंग सम्बन्धित अलग्गै योजना ल्याउन आग्रह गरेकी हुन् ।

यस प्रदर्शनीले महिला उद्यमीहरुलाई सक्षम बनाउन केही हदसम्म सहयोग पुर्याउने उनले विश्वास समेत व्यक्त गरिन् । उनले प्रदर्शनीमा महिलाहरुलाई आफ्नो सीपको प्रदर्शन गर्न आग्रह गरिन् ।

महिलाहरुको सीप तथा कलालाई प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि जनकपुरधाममा ३ दिवसिय महिला हस्तकला मेला तथा प्रदर्शनी सुरु भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम तथा नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनीमा प्रदेश २ को ८ वटै जिल्लाका महिला उद्यमीहरुको सहभागिता रहेको छ । मेलामा कुल ५० वटा स्टल लगाइएको आयोजकले जनाएको छ ।

महिला उद्यमीहरुले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले यो प्रदर्शनीको आयोजना गरिएको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र शाक्यले बताए ।

प्रदर्शनीमा मिथिला चित्रकला, बाँसका कलात्मक भाँडा वर्तन, माटाका भाँडा, सुतीका कपडाहरु राखिएको छ । मेलामा झण्डै २५ हजार आगन्तुक आउने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रदर्शनी अवलोकनका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top