ताजा समाचार


केरूङ नाका खुला गराउन काँग्रेसको माग (विज्ञप्ति सहित)

द रियल समाचार     २०७७ फाल्गुन २, आईतवार, १२: ४८ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसले चीनसँगको केरूङ नाका खुला गराउनका लागि पहल गर्न सरकारसँग आग्रह गरेको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केरूङ नाकामा आयात-निर्यात सहज तुल्याउन तत्कालै पहलका लागि सरकारसँग माग गरेका हुन् ।

विज्ञप्तिमा कोरोना भाइरसको संक्रमण फैलिँदै गर्दा अन्तर्राष्ट्रिय सिमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्द गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यकता भएपनि अहिले तुलनात्मक रुपले स्थिति सहज बनेकोले उत्तरी सीमाको प्रमुख व्यापारीक नाका सञ्चालनको लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

उत्तरी सीमाको प्रमुख व्यापारीक नाका केरुङमा नागरिक र व्यवसायीहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा नेपाली काँग्रेस यसप्रति सरकारको ध्यानाकर्षण गराउन चाहेको विज्ञप्तिमा उल्लेख छ । सीमामा कन्टेनरहरु अलपत्र अवस्थामा रहनु दुःखद रहेको कांग्रेसको भनाइ छ ।

विज्ञप्तिमा ०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी र त्यसपछि आंशिक खुला गरिएपनि दैनिक ५ वटा कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद रहेको भनिएको छ । यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको उल्लेख छ ।

चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरी समस्याको समाधान खोज्न नेपाली काँग्रेसले सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top