काठमाण्डौ । सरकारले आजदेखि स्थानीय तहका जनप्रतिनिधि र जिल्लाका पत्रकारहरुलाई कोरोनाविरूद्धको खोप लगाउन लागेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले सरकारले आजदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई खोप लगाउन सुरु गरेको जानकारी दिए । उनले ७७ वटै जिल्लाका सबै सेवा प्रदायक सरकारी कार्यालयका कर्मचारीलाई पनि खोप लगाउन थालिएको बताए ।
यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, फ्रन्टलाइनमा काम गर्ने अन्य कर्मचारीले पनि यस अवधिमा खोप लगाउन सकिने गौतमले जानकारी दिए ।
डा. गौतमले सबै जिल्लाका पत्रकारहरूलाई पनि आजबाटै खोप लगाउन सुरु गरिएको बताए । अन्य व्यक्तिको हकमा भने चाँडै खोप आउने र सोही अनुसार यथाशिघ्र लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया