पर्सा । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सरकारले नियन्त्रण गर्न खोजे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपाल पत्रकार महासंघ प्रदेश २ को दोस्रो प्रदेश साधारणसभामा बोल्दै अध्यक्ष आचार्यले अनलाइन निर्देशिकाले प्रेस स्वतन्त्रतालाई समाप्त पार्न लागेको भन्दै त्यसको प्रतिकार गर्ने चेतावनी दिएका हुन् । उनले सरकारले लोकतन्त्रमा प्रहार गर्न संसद् विघटन गरेको आरोप समेत लगाए ।
शनिबार सुरु भएको प्रदेश साधारणसभामा विगतमा मिडिया काउन्सिल विधेयकजस्तै निर्देशिकाविरुद्ध पनि महासंघ संघर्षमा जाने अध्यक्ष आचार्यले बताए। लोकतन्त्रका लागि महासंघले सदैव संघर्ष गरिररहने उनले बताए।
कार्यक्रमको उद्घाटन सत्रमा प्रादेशिक पत्रकारिता पुरस्कार २०७६ बाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झालाई सम्मानित गरिएको थियो । त्यस्तै, प्रादेशिक पत्रकारिता २०७७ बाट महासंघ पर्साका पूर्वअध्यक्ष शत्रुघन नेपाललाई पुरस्कृत गरियो ।
पुरस्कारको राशि २५–२५ हजार रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया