ताजा समाचार


पटाका फ्याक्ट्रिमा आगलागी, मृतकको संख्या १९ पुग्यो

द रियल समाचार     २०७७ फाल्गुन १, शनिबार, १८: १० मा प्रकाशित




एजेन्सी । भारतको तमिलनाडुको एक पटाका फ्याक्ट्रिमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । घटनामा अन्य ३६ जना भन्दा बढि घाइते भएका छन् ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार तमिलनाडुको विरुधुनगरको एक पटाका फ्याक्ट्रिमा आगलागीमा परेर १९ जनाको मृत्यु भएको छ भने ३६ जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने जनाइएको छ ।

घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले भने,‘तमिलनाडुको विरुधुनगरस्थित एक पटाका फ्याक्ट्रिमा भएको आगलागीको घटना दुःखद छ । दुःखको यस घडीमा मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । त्यस्तै म पीडित परिवारको साथमै रहेको जानकारी गराउँछु । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना छ । यस घटनामा प्रभावित हुने व्यक्तिहरुलाई तत्काल मद्दत गर्न प्रशासन लागिरहेको छ ।’ त्यस्तै भारतीय काँग्रेस नेता राहुल गान्धी लगायतले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

तमिलनाडु सरकारले मृतक परिवारलाई ३ लाख र घाइतेलाई १ लाख तथा केन्द्र सरकारले मृतक परिवारलाई २ लाख तथा घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

घाइते मध्ये केही व्यक्तिको शरीरका धेरै भाग जलेका छन्, त्यसैले उनीहरूको अवस्था गम्भीर रहेको छ । आगलागी भएका बेला उद्योगमा झण्डै ७४ जना मानिस रहेको बताइएको छ । आगलागी भएको उद्योग अवैध तरिकाले सञ्चालन भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top