जनकपुरधाम । मुटु सम्बन्धि रोगबाट पीडित १५ दिने एक शिशुलाई उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारजनले अपिल गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै शिशुको परिवारले सहयोग मागेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा–१४ बस्ने रवि साहले मुटु सम्बन्धि रोगबाट पीडित आफ्नो १५ दिने छोराको उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन् ।
शिशुलाई ५ दिन देखि जनकपुरधामस्थित बाल अस्पतालको एनआइसियुमा राखिएको छ । तरपनि उनको स्वास्थ्यमा कुनै सुधार हुन सकेको छैन् । उनलाई थप उपचारका लागि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा लैजानुपर्ने भएकोले आर्थिक सहयोग गरि दिन रविका साथीभाइले सामाजिक सञ्जाल मार्फत सबैसँग अपिल गरेका छन् ।
बच्चा ठिक हुन लाखौं खर्च लाग्ने चिकित्सकहरुले जानकारी गराएका छन् । जन्मिदा स्वस्थ्य जन्मेको रविका छोराको एक हप्ता भित्र अचानक स्वास्थ्यमा समस्या उत्पन हुँदा जनकपुरधामस्थित बाल अस्पतालको एनआइसियुमा राखिएको छ । चिकित्सकले तुरुन्तै उपचार गराउन सुझाव दिएपछि रविले जेनतेन रकम जुटाइ विगत ५ दिनदेखि शिशुलाई बाल अस्पतालमा भर्ना गराएका छन् । शिशु अझैपनि उपचारकै क्रममा छ ।
अहिलेसम्म जेनतेन गरी उपचार गराउँदै आएको रविलाई उपचारमा लाग्ने रकम ठुलो भएकोले आर्थिक संकट आइपरेको छ । थप उपचारका लागि काठमाडौं लग्नुपर्ने भएकाले उनीहरु सहयोगको खोजीमा छन् । सहयोगका लागि सबैसँग हारगुहार गरिरहेका छन् । रविले भने,’आर्थिक सहयोग गरिदिन सबैसँग अपिल गरेको छु, सबैले सहयोग गरिदिए मेरो छोरा अवश्य बाँच्ने छ ।’ रवि पेशाले टेम्पो चालक हुन । उनको परिवार आर्थिक रुपले असहाय र गरिब छ ।
आफ्नो छोराको उपचारका लागि राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नम्बर १२७०१०००४६७११०१० मा रकम जम्मा गरिदिन उनले सबैसँग आग्रह गरेका छन् ।
प्रतिक्रिया