जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश परिवहन सेवा फागुन महिना भित्रै सञ्चालनमा ल्याउने बताएका छन् ।
मन्त्रालयले प्रदेश परिवहन सेवाका लागि बस खरिद गरेर धनुषाको ढल्केबरमा महिनौंदेखि थन्काएर राखेको थियो । त्यसको चौतर्फी आलोचना हुन थालेपछि मन्त्री सोनलले यसै महिना भित्रै बस सेवा सञ्चालनमा ल्याउने जानकारी दिएका हुन् ।
जनतालाई सरल, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यले भौतिक पूर्वाधार विकास मन्त्रालयले धनतेरसका दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा ५ वटा बस खरिद गरेको थियो । कार्यविधि अभाव तथा बसको भुक्तानी हुन नसकेकोले बसहरु त्यतीकै थन्काएर राखिएको थियो । ५ वटै बसको भुक्तानी गत पुस महिना मै भईसकेकोले कार्यविधि निर्माणको कार्य सम्पन्न भएलगत्तै बस सेवा सञ्चालनमा आउने मन्त्री सोनलले बताए ।
उनले भने,‘कार्यविधि निर्माण कार्य अन्तिम चरणमा छ, बस चाँडै सञ्चालनमा आउँछ । बस सेवा सञ्चालनका लागि एउटा संचालक समितिको गठन गरिनेछ । जसले बस सेवा संचालनको सम्पूर्ण जिम्मा उठाउने छ ।’ संचालक समितिले नै बसको चालक, सहचालक तथा कन्डेक्टरको भर्ती गर्ने मन्त्री सोनलले जानकारी दिए । यो प्रदेश परिवहन सेवा सञ्चालनमा आएपछि सार्वजनिक यातायातभन्दा सरल, सुलभ, सुरक्षित र व्यवस्थित हुने मन्त्री सोनलले दावी गरे ।
प्रदेश परिवहन सेवा सञ्चालन भएपछि यसले प्रदेशको ८ वटै जिल्लाका सदरमुकामलाई जोड्नेगरी सेवा प्रदान गर्ने छ । जनकपुरधामदेखि वीरगञ्ज, वीरगञ्जदेखि जनकपुरधाम र जनकपुरधामदेखि राजविराजसम्म परिवहन सेवा सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ ।
५० सीट क्षमता भएको सो बसमा सीसीटीभी क्यामेरा, स्वचलित ढोका र वाइफाइको सुविधा समेत रहेको बताइएको छ ।
प्रतिक्रिया