एजेन्सी । भारतको तमिलनाडुको एक पटाका फ्याक्ट्रिमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार तमिलनाडुको विरुधुनगरको एक पटाका फ्याक्ट्रिमा आगलागीमा परेर ११ जनाको मृत्यु भएको छ भने ३६ जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने जनाइएको छ । यस घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले भनेका छन,‘तमिलनाडुको विरुधुनगरस्थित एक पटाका फ्याक्ट्रिमा भएको आगलागीको घटना दुःखद छ । दुःखको यस घडीमा मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । त्यस्तै म पीडित परिवारको साथमै रहेको जानकारी गराउँछु । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना छ । यस घटनामा प्रभावित हुने व्यक्तिहरुलाई तत्काल मद्दत गर्न प्रशासन लागिरहेको छ ।’ त्यस्तै भारतीय काँग्रेस नेता राहुल गान्धी लगायतले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
तमिलनाडु सरकारले मृतक परिवारलाई ३ लाख र घाइतेलाई १ लाख तथा केन्द्र सरकारले मृतक परिवारलाई २ लाख तथा घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।
प्रतिक्रिया