जनकपुरधाम । स्थानीय महिलाहरुको सीप तथा कलालाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा महिला हस्तकला मेला तथा प्रदर्शनी हुने भएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम तथा नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ३ दिवसीय महिला हस्तकला मेला तथा प्रदर्शनी हुन लागेको हो । फागुन २ गतेबाट जनकपुरधामस्थित गोपाल धर्मशालामा सुरु हुने सो प्रदर्शनी फागुन ४ गतेसम्म चल्ने नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्यले जानकारी दिए ।
स्थानीय सीप, कला तथा संस्कृतिको संरक्षणसम्वद्र्धन, महिला उद्यमीहरुले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले यो प्रदर्शनीको आयोजना गर्न लागिएको शाक्यले बताए । प्रदर्शनीमा प्रदेश २ को ८ वटै जिल्लाका महिला उद्यमीहरुलाई सहभागी गराइने उनले बताए । मेलामा झण्डै २५ हजार आगन्तुक आउने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रदर्शनी अवलोकनका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको बताइएको छ ।
उनका अनुसार सो प्रदर्शनमा ५० भन्दा बढी स्टलहरु लगाइने छ भने स्टल लगाउनका लागि कुनै शुल्क लाग्ने छैन । प्रदर्शनीमा मिथिला आर्ट, माटाका भाँडा, लाहाका गरगहनाहरु, बांसबाट बनाइएका कलात्मक सामग्री, प्राकृतिक रेसाका वस्तुहरु, चाँदीका गरगहना, फेल्टजन्य वस्तु, पश्मिना, ऊनी तथा सुतीजन्य वस्तु, हाते कागजजन्य वस्तुहरु राखिने छ ।
प्रदर्शनीको उदघाटन तथा समापन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले गर्ने बताइएको छ ।
प्रतिक्रिया