–रञ्जन भण्डारी
महोत्तरी । महोत्तरीको बर्दिवासस्थित एक होटेल सञ्चालकलाई प्रहरी पक्राउ गरेको छ । बर्दिबास–१ स्थित देउराली होटेल एण्ड लजका सञ्चालक तिलबहादुर थापालाई होटेलमा यौन धन्दा चलाएको गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।
उनीमाथि महोत्तरी जिल्ला अदालतबाट पहिलोपटक सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासमा उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपोसारको मुद्दासमेत दर्ता भएको छ ।
होटेलमा छापा मार्न पुगेको प्रहरीले होटेलमा दुईजना युवतीसमेत फेला पारेको थियो । उनीहरूलाई परिवारको जिम्मामा छोडिएको डिएसपी विष्टले बताए । बर्दिबासका अन्य विभिन्न होटेलहरूमा समेत देहव्यापार चलिरहेको सूचनासमेत रहेको र प्रहरीले त्यस्तो क्रियाकलापमाथि निगरानी राखिरहेको उनले बताए ।
विगतमा महोत्तरी सदरमुकाम जलेश्वरका होटेलहरुमा यौन धन्दा हुने गरेकोमा महोत्तरीका तत्कालीन एसपी श्यामकृष्ण अधिकारीको अगुवाइमा होटेलहरूमा कडाइ गरिएपछि यस्तो क्रियाकलाप रोकिएको थियो ।
तस्बिर : सांकेतिक
प्रतिक्रिया