ताजा समाचार


रेल्वेले अधिग्रहण गरेको जग्गाको मुआब्जा नदिएपछि किसानहरु आन्दोलित

द रियल समाचार     २०७७ माघ ३०, शुक्रबार, १०: २५ मा प्रकाशित




रौतहट । रेल्वे विभागले अधिग्रहण गरेको जग्गाको मुआब्जा नदिएको भन्दै किसानहरु आन्दोलित भएका छन् ।

जिल्लाको चन्द्रपुर नगरपालिका-८ का किसानहरुले रेल्वेको काम रोकेका हुन् ।

मेची–महाकाली रेलमार्गको बर्दिबास–निजगढ खण्डस्थित रौतहटको सन्तपुर नजिक ४ नम्बर प्याकेजअन्तर्गत खेतका किसानले मुआब्जा नदिएको भन्दै उनीहरुले काम रोकेका हुन् ।

जग्गाधनीले मुआब्जाको रकम नपाएपनि ठेकेदारले भने धमाधम काम सुरु गरेपछि किसानहरु आक्रोशित भएका छन् ।

केही व्यक्तिको एक महिनाअघि नै मालपोतबाट रेल्वे विभागको नाममा जग्गा नामसारी भइसकेपनि उनीहरुको हातमा एक पैसा पनि नपरेको एकजना किसान कृष्ण चौधरीले बताए । उनले आफ्नो ८ कठ्ठा जग्गा रेल्वेमा परेको बताए ।

समयमा मुआब्जा नपाएको भन्दै तीन महिनाअघि किसानले गहुँ, मकै, मसुरोलगायतका बाली लगाएका थिए । अहिले बाली भित्र्याउन नपाउँदै रेल्वेले धमाधम काम थालेको छ ।

यता, रेल्वे विभागका डिई देबेन्द्र साहले मुआब्जा वितरणमा ढिला हुन गएको स्वीकार गरेका छन् । ‘किसानलाई दिने मुआब्जाको रकम नभएकै कारण ढिला हुन गएको हो । अर्थ मन्त्रालयबाट निकासा हुन सकेको छैन,’ उनले भने,‘अबको एकसाताभित्र रकम निकासा हुन्छ । त्यसपछि किसानलाई बोलाएरै भुक्तानी गर्छौं ।’

उनले ८० प्रतिशत किसानको मुआब्जाको रकम वितरण भइसकेको दाबी गरे । उक्त प्याकेज लामा गोल्डेन बिरुवा जेभीले ठेक्का सकार गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top