ताजा समाचार


ओलीका कारण संघियता र संविधान धरापमा पर्यो : नेता भण्डारी

द रियल समाचार     २०७७ माघ २९, बिहीबार, २०: १३ मा प्रकाशित




जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति सदस्य शरत्सिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण संघियता र संविधान धरापमा परेको आरोप लगाएका छन् ।

रामजानकी युवा कमिटीको ११ औं वार्षिकोत्सव एवं नव निर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता भण्डारीले प्रधानमन्त्री ओली स्वयं संघियता र लोकतन्त्रलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाए ।

उनले भने,‘प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर नेपाली जनताको भावनासँग खेलवाड गरेका छन् । उनको यो कदम असंवैधानिक र अलोकतान्त्रिक छ । यसका विरुद्ध हामी सबै एकजुट हुनुको विकल्प छैन् ।’

पूर्व रक्षामन्त्री समेत रहेका भण्डारीले अधिकार प्राप्तीको आन्दोलनमा शहिद भएकाहरुको उपलब्धी अहिलेसम्म प्राप्त हुन नसकेको स्मरण गराउँदै युवाहरुले अझै ईमान्दार भएर अगाडी बढ्नुको विकल्प नरहेको बताए । उनले भने,‘प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न युवाहरु अध्ययनशिल हुनु आवश्यक छ । अब देशको बागडोर युवाको हातमा सुम्पिनु पर्दछ ।’

मुलुकमा संघीयता आएपनि मधेशी जनताले पूरै अधिकार प्राप्त गर्न नसकेकोले अझै त्यसका लागि सशक्त आन्दोलनको आवश्यकता रहेको नेता भण्डारीले बताए । उनले प्रधानमन्त्रीको यस प्रतिगमनले सबै सखाप पार्ने तर्फ समेत चिन्ता व्यक्त गरे ।

रामजानकी युवा कमिटीका अध्यक्ष विनोद कुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साहले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध सम्पूर्ण नेपाली जनतालाई एकजुट भएर प्रतिकार गर्न आह्वान गरेका थिए ।

उनले जनताले यसको प्रतिकार नगरे देश दुर्घटना तर्फ जाने निश्चित रहेको आशंका समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top