ताजा समाचार


राराब क्याम्पसको पुस्तकालय जिर्ण बन्दै, ६९ हजारभन्दा बढी पुस्तक संरक्षण विहिन

द रियल समाचार     २०७७ माघ २९, बिहीबार, १६: २६ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको पुस्ताकालय जिर्ण बन्दै गईरहेको छ । प्रत्येक वर्ष पुस्तकालय व्यवस्थापनका साथै नयाँ पुस्तक किन्नका लागि आउने बजेट नै बन्द गरिएपछि जिर्ण अवस्थामा पुगेको हो ।

राराव क्याम्पस अधिनस्थ रहेको सो पुस्तकालयका लागि प्रत्येक वर्ष शिक्षा मन्त्रालयले एक लाख बजेट उपलब्ध गराउँदै आएको थियो । तर वि.सं २०५० सालपछि एक रुपैयाँ पनि सरकारी स्तरबाट लगानी नहुँदा पुस्तकालय व्यवस्थापन गर्न कठिनाई भईरहेको पुस्तकालयका कर्मचारी श्याम शर्माले बताए ।

पुस्तकालय चलाउनका लागि जम्मा ८ जना कर्मचारी त्यहाँ कार्यरत छन् । ४ जना बिहानको सिफ्टमा काम गर्छन् भने ४ जना दिउँसोको सिफ्टमा काम गर्दै आईरहेका छन् । ८ जना कर्मचारीले पुस्तकालय चलाउन सहज नभएको शर्माको भनाई छ । २०५० सालसम्म कुल १७ जना कर्मचारी रहेकोमा अहिले पुस्तकालय ८ जना कर्मचारीमा सीमित भएको छ । कर्मचारीहरु अवकाश प्राप्त गरेपछि त्यसको पदपुर्ती नहुँदा कर्मचारी अभाव समेत भएको छ ।

६९ हजारभन्दा बढी पुस्तक संरक्षण विहिन
पुस्तकालय व्यवस्थापनका लागि कुनै निकायले चासो नदेखाएपछि त्यहाँ रहेका पुस्तकहरु समेत संरक्षण विहिन बन्दै गईरहेको छ । राराव क्याम्पसको सो पुस्तकालयमा ६९ हजार ५ सयभन्दा बढी पुस्तकहरु रहेका छन् ।

पुस्तकालयमा ४ वटा वेदका साथै धार्मिक पुस्तकहरु, ईतिहास, भूगोलका ऐतिहासिक पुस्तकहरु रहेका छन् । यसका साथै एकसय वर्षसम्मका लागि प्रयोग गर्न मिल्ने पञ्चाङ्ग समेत खेर जाने अवस्थामा रहेको छ । झण्डै ४० वर्ष अगाडि छापिएको सो पञ्चाङ्ग दुर्लभ नै बनेको छ । सो पञ्चाङ्ग विशेष गरेर ज्योतिष पढनेहरुका साथै र कुण्डली निर्माण गर्नेहरुका लागि उपयोगी सावित हुन सक्छ ।

पुस्तकलयमा कतिपय दुर्लभ पुस्तकहरु क्याम्पसका कर्मचारीहरुले नै घर लगेपछि फिर्ता नगर्ने गरेको त्यहाँका कर्मचारीको आरोप छ ।
पुस्तकालयमा विद्यार्थीहरुमा पढने संस्कृतिको अभाव भएको र पहिले जस्तो पुस्तकालय प्रति विद्यार्थीहरुको रुची नदेखिएको पुस्तकालयका अर्का कर्मचारी राधाकान्त झाले बताए । उनका अनुसार पहिला पहिला विद्यार्थीहरु प्रिफेन्स पुस्तकहरु समेत लाने गर्थे तर अहिले आएर कोर्ष बाहेक अन्य पुस्तक तर्फ उनिहरुको चासोसम्म छैन् ।

पहिला विद्यार्थीहरु घण्टौ सम्म पुस्तकालयमा बसेर पुस्तक पढने गरेको भएपनि अहिले पुस्तकालय विद्यार्थी विहिन बन्दै गएको छ ।
पुस्तकालयमा आन्तरिक स्रोतबाट मात्रै पुस्तक किन्ने गरिएको छ । वर्षमा करिब ३ लाखको पुस्तक खरिद गर्ने गरिएको पुस्तकालयले जनाएको छ ।

२०१६ सालमा स्थापना गरिएको सो पुस्तकालयबाट प्रत्येक वर्ष दुई हजारभन्दा बढी विद्यार्थीहरुले पुस्तक लाने गरेको पुस्तकालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top