ताजा समाचार


दाहाल–नेपाल समूहकी नेतृ झाँक्री पक्राउ, नेकपा नेताहरुद्वारा विरोध

द रियल समाचार     २०७७ माघ २९, बिहीबार, १३: ३२ मा प्रकाशित




काठमाण्डौ । प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको छ ।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए । पक्राउ पर्नुअघि उनले आफू राज्यको कानुनको पालक भएको बताएकी थिइन् । उनले भनिन्,‘पक्राउ पूर्जीका आधारमा म आफ्नै निवासबाट गिरफ्तारी दिँदैछु ।’उनले राज्यको आदेश तामेल गर्ने क्रममा खटिएका सुरक्षाकर्मीमाथि धन्यवाद पनि दिइन् ।

गोरखामा आयोजित एक कार्यक्रममा सहभागी भएको बेला नेतृ झाँक्रीले राष्ट्रपति बारे अशोभनीय टिप्पणी गरेको भन्दै ओली निकटका अनेम संघले उनीमाथि कारबाही गर्न माग गरेको थियो । झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवास पुग्दा उनका समर्थकहरुले प्रतिगमन मुर्दावाद, रामकुमारी झाँक्री हाईहाईलगायतका नारा लगाएका थिए । नेतृ झाँक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोली पक्राउ गर्न बानेश्वर पुगेपछि जम्मा भएका समर्थकहरुले नाराबाजी र प्रदर्शन गरेका थिए ।

यसैबिच नेतृ झाँक्री पक्राउ परेको विरोधमा दाहाल–नेपाल समूहका नेता जनार्दन शर्मा र केन्द्रिय सदस्य विष्णु रिजाले झाँक्रीको पक्राउबाट नागरिक स्वतन्त्रताको हनन् भएको बताएका छन् । उनीहरुले देशलाई मुठभेडमा लगेर आफ्नो निहीत स्वार्थपूर्ति गर्ने षडयन्त्र अनुसार झाँक्रीलाई पक्राउ गरिएको टिप्पणी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top