ताजा समाचार


जनकपुरमा प्लाष्टिकजन्य पदार्थ खाएर प्रतिबर्ष करिव १ दर्जन गाईको अकालमै मृत्यु हुँदै

द रियल समाचार     २०७७ माघ २८, बुधबार, १७: ५६ मा प्रकाशित




जनकपुरधाम । धार्मिक पर्यटकीय स्थल जनकपुरधामलाई करोडौं हिन्दुहरुको आस्थाको केन्द्र मानिन्छ । तर करोडौं हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको जनकपुरधाममा हिन्दु धर्ममा माताको दर्जा दिइएको गाईको दयनिय अवस्था देखि नसक्नु छ ।

मिथिलाभूमिलाई देवभूमिसंग तुलना गर्नेहरुको समेत यहाँ कमी छैन । आफूलाई मिथिलावासी भन्न रुचाउनेहरु नै गाई प्रति असंवेदनशिल रहेको पाइन्छ । जनकपुरधाममा प्लाष्टिकजन्य पदार्थ खाएर मासिक लगभग ८ देखि ९ वटा गाईवस्तुको मृत्यु हुनुले गाईप्रतिको असंवेदनशिलता झल्किन्छ ।

विभिन्न प्रकारका खानेकुराहरु पोलोथिनमा पोको बनाएर फ्याकिएका रोटी, भात, सागपातहरु खाएपछि मासिक उक्त संख्यामा गाईवस्तुहरुको मृत्यु हुने गरेको गौ संरक्षण मञ्च नेपालका केन्द्रिय अध्यक्ष जगदीश महासेठले दाबी गरे । प्लाष्टिकमा राखिएका खानेकुराको लोभमा प्लाष्टिक सहित खाँदा गाई सो खानेकुरा पचाउन नसकेर मृत्युको शिकार हुने गरेको पाइन्छ । तर यस सम्बन्धी स्पष्ट तथ्यांक भने सरोकारबाला मानिएका कुनै निकायसँग छैन् । खास गरी गाईवस्तु पाल्नेहरु गाईको दूध दूहेर खाना नदिई सडकमा त्यतिकै छोडेपछि आमाकी स्वरुप मानिएकी गौमाताको यतिको संख्यामा मृत्यु भईरहेको गौ संरक्षण मञ्चका अध्यक्ष महासेठ बताउँछन् ।

उनी भन्छन्,‘गाईवस्तु पालकहरु यति स्वार्थी छन् कि गाईवस्तुलाई आफ्नो स्वार्थका लागि उपभोग्य वस्तु जस्तै उपभोग गर्ने गर्छन् र सडकमा मर्नका लागि छोड दिने गर्छन्, जहाँ हामीले गौमाताको पूजा गर्नुपर्ने हो त्यहाँ हामी उनीहरुको हत्यारा बन्दैछौं ।’ हिन्दु धर्ममा गाईको महत्वबारे विभिन्न धर्म ग्रन्थहरुमा उल्लेख रहेपनि मञ्चका अध्यक्ष महासेठले जनकपुरधामबासी गाई पालन गरेपनि रक्षा भने गर्न नसकेको गुनासो गरे ।
उनले यहाँका स्थानीयबासी गौरक्षाका लागि संवेदनशील नभएको आरोप समेत लगाए । अध्यक्ष महासेठले गौरक्षाका लागि जनकपुरधाम उपमहानगरपालिकामा बजेटदेखि कर्मचारीसम्म रहेपनि काम भने शुन्य भएको आरोप लगाए ।

उनले उपमहानगरपालिकाले बजेट सिद्ध्याउनका लागि ६ महिनामा एक पटक सडकमा रहेका गाईहरुलाई समात्ने गरेको बताए । बजेट त बजेट समातिएको गाईवस्तु छोड्न बापत लिईएको जरिवानामा समेत उपमहानगरपालिकाले ट्राफिक प्रहरी कार्यालयसँग बाँडफाँड गरी अभियानलाई रकम खाने भाडो बनाईदिएको उनले बताए । यसबारे जनकपुरधाम उपमहानगरपालिकाकी उप प्रमुख रिता मिश्र भन्छिन्,‘ उपमहानगरपालिकासंग गाईवस्तु समातेर राख्ने काजी हाउसको व्यवस्था भएपनि चरीचरण व्यवस्था भने छैन् त्यसैले हाम्रो यो अभियान असफल भयो ।’

गाईपालकहरु दूध दिने गाईहरु जरिवाना तिरेर समयमै लगेपनि बाछाबाछीलाई भने महिनौसम्म नलगि दिँदा सबैभन्दा बढी समस्या भएको उपप्रमुख मिश्रले बताईन् । उनले जरिवाना बापत लिईएको रकममा बाँडफाँड गरिदैँ आएको कुरा ठाडै अस्वीकार गरिन् । उनले भनिन्,‘जरिवाना तिरेर पनि नलगे उपमहानगरपालिकाले के गर्ने ? बाध्यताबस हामीले समातिएका गाईवस्तुलाई छोड्नैपर्छ, यसमा ट्राफिक धनुषाले समेत हामीलाई सहयोग गर्दै आएको छ जरिवाना बापत उठेको राजश्व रकमको केही प्रतिशत हामीले दिनै पर्ने हुन्छ यो कुनै कमिशन वा रकमको बाँडफाँड होईन ।’

छाडा चौपायाका कारण जनकपुरधामको बसपार्क, जिरोमाईल, रामानन्द चोकसहितका हाईवे सडकमा दूर्घटना हुनसक्ने परिस्थिति दिनहुँ जसो आउने गरेको छ भने सडक दूर्घटनामा परि कतिपय गाईवस्तुको ज्यान समेत जाने गरेको छ ।

पशुधनीहरु आफ्नो स्वार्थ परिपुर्ति गरेर गाईवस्तुलाई प्लाष्टिकजन्य कुराहरु खान र सडकमा दूर्घटनामा परेर मर्नका लागि छोड्ने गरेको नागरिक समाजका अगुवाहरुको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top