ताजा समाचार


निर्वाचन तयारीको काम निरन्तर अगाडि बढाउन प्रधानमन्त्री ओलीले आयोगसँग गरे आग्रह

द रियल समाचार     २०७७ माघ २७, मंगलवार, १४: ०१ मा प्रकाशित




काठमाण्डौ । निर्वाचन आयोगको कार्यालय पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधी निर्वाचनको तयारीको काम निरन्तर अगाडि बढाउन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे जानकारी गराएको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको लागि आवश्यक बजेट, बन्दोबस्तीका सामान लगायतका विभिन्न विषयमा जानकारी गराएको पनि थापाले जानकारी दिए ।

नेकपाको आधिकारिकता विवादबारे पत्रकारले राखेको जिज्ञासामा प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जानुको उद्देश्य त्यो नभएको बताए । गत पुस ५ गते सरकारले संसद विघटन गरेलगत्तै नेकपा दुई खेमामा विभाजित भएपछि प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगेको पहिलो पटक हो ।

प्रधानमन्त्री ओली निर्वाचनको तयारीबारे जानकारी लिन आयोगको कार्यालय कान्तिपथ पुगेका थिए । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ पनि आयोगको कार्यालय पुगेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top