जनकपुरधाम । देशभर कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सम्पन्न भईसकेको छ । आजदेखि दोस्रो चरणको अभियान समेत सुरु भईसकेको अवस्था छ । प्रदेश २ मा पहिलो चरणमा २५ हजार ६३७ जनाले कोरोना बिरुद्धको खोप लगाएका हुन् ।
केन्द्र सरकारले प्रदेश २ सरकारलाई उपलब्ध गराएको ३४ हजार ८०७ डोज कोरोना बिरुद्धको खोप मध्ये पहिलो चरणमा प्र्रmन्टलाइनमा खट्नेहरुलाई मात्र खोप लगाउने निर्देशिका जारी गरिएपनि सो निर्देशिका विपरित खोपको दुरुपयोेग भएको पाइएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका व्यक्ति, फोहोरमैला व्यवस्थापनमा खटिने सफाईकर्मी, खोपकेन्द्रमा खटिएका सुरक्षाकर्मी तथा स्वयं सेवक, बृद्धाश्रममा रहेका व्यक्ति, हेरचाह गर्ने व्यक्ति र कर्मचारी, जेलमा खटिएका सुरक्षाकर्मी तथा कैदी लगायतलाई खोप लगाउने निर्देशिका बनाइएको थियो । तर, प्रदेश २ मा सो मापदण्ड विपरित खोप लगाइएको पाइएको छ ।
प्रदेश २ मा पहिलो खोप प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले नै लगाएर मापदण्ड तोडेका थिए । त्यसपछि यस प्रदेशमा कयौँ स्वास्थ्यकर्मीहरु कोरोना बिरुद्धको खोप लगाउन नसकेको समयमा कयौँ व्यापारीहरु, कयौँ शिक्षकहरु अर्थात फ्रन्ट लाइनमा रह्ने बाहेकका व्यक्तिहरुले लगाएको पाइएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको खोप केन्द्रमा सुनचाँदी व्यवसायी पवन ठाकुर र वलराम साहले खोप लगाएका छन् । व्यापारीद्वयले खोप लगाएको फोटो नै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए ।
सुनचाँदी व्यवसायी ठाकुरले आफु जानकी वृद्धाश्रमको उपाध्यक्ष रहेको र भिडभाडमा जानुपर्ने भएकाले खोप लगाएको बताए । बृद्धाश्रमका ११ जनै पदाधिकारीले कोरोना विरुद्धको खोप लगाएका छन् । यता, अर्का सुनचाँदी व्यवसायी बलराम साहले जिल्ला स्वास्थ्य कार्यालयको खोप केन्द्रबाट खोप लगाएका हुन् । त्यस्तै महोत्तरीको बर्दिवास अस्पतालको खोप केन्द्रमा समेत मापदण्ड बाहिरका व्यक्तिहरुले खोप लगाएको पाइएको छ । बर्दिवास अस्पतालको खोप केन्द्रमा श्री त्रीभुवन माध्यमिक विद्यालयका शिक्षक धर्मेन्द्र महतोले समेत कोरोना खोप लगाएको तस्विर सामाजिक संजालमा शेयर गरेका थिए ।
यति मात्र नभई कतिपय जिल्लामा नेताहरुले समेत खोप लगाएका छन । सिरहामा संचारकर्मीहरुले पनि खोप लगाए । प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले निर्देशिका अनुसार नै खोप लगाइयोस भन्नेमा आफूहरु विश्वस्त रहेपनि कुनै कुनै स्थानमा मापदण्ड बाहिर गएर खोप लगाइएको स्वीकार गरे । उनले भने,‘स्वास्थ्यकर्मीका लागि ल्याइएकोे खोप व्यापारी, शिक्षक लगायतका अन्य व्यक्तिहरुले लगाउनु दुःखद हो ।’ फिल्डमा खट्ने कर्मचारीहरुलाई सबै डिटेल लिएर मात्रै खोप लगाउन भनेपनि भीडभाडमा त्यस्तो गर्न नसकेकाले पनि यस्तो त्रुटी भएको हुनसक्ने उनले बताए ।
स्वास्थ्यकर्मी नै तर्सिए खोपबाट
प्रदेश २ मा पहिलो चरणको खोप अभियानमा २५ हजार ६ सय ३७ जनाले खोप लगाएका छन् । जुन लक्ष्यभन्दा कम रहेको छ । यस प्रदेशमा पहिलो चरणमा ३४ हजार ८ सय ७ जनालाई कोभिडशिल्ड खोप लगाउने लक्ष्य लिइएको थियो ।
निमित्त निर्देशक झाले प्रदेशमा लक्ष्य लिएकोमध्ये ७४ प्रतिशतले मात्रै खोप लगाएको जानकारी दिए । उनले लक्ष्यभन्दा कम खोप लाग्नुको मुख्य कारण स्वास्थ्यकर्मी तथा चिकित्सहरु नै डराउनु रहेको बताए । उनले भने,‘यो खोप अन्य खोपहरुभन्दा एकदमै सुरक्षित थियो तर चिकित्सा पेशामा संलग्न व्यक्तिहरु नै कोरोना खोपलाई लिएर डराउनु उचित होइन । उनीहरु खोपको रिएक्सन तथा रुढीवादी सोचका कारण पनि कतिपयले खोप लगाएनन् ।’
कुन जिल्लामा कति डोज खोप ?
प्रदेश सरकारले पहिलो चरणका लागि प्रदेश २ मा सबभन्दा बढि धनुषामा ९ हजार १ सय ८२, पर्सामा ४ हजार ९ सय ७१, सर्लाहीमा ४ हजार ७ सय ७२, सिरहामा ३ हजार ९ सय ३०, सप्तरीमा ३ हजार ७ सय ५४, रौतहटमा ३ हजार ६ सय ९, महोत्तरीमा २ हजार १ सय ९१ र बारामा २ हजार ३ सय ९५ डोज खोप उपलब्ध गराएको थियो ।
कोरोनाविरुद्धको खोप अभियानको दोस्रो चरण आजदेखि सुरु भई आगामी ५ दिनसम्म जारी रहने बताइएको छ ।
प्रतिक्रिया