जनकपुरधाम । नेपाल सरकारले विगत लामो समयदेखि चाँडै रेल सञ्चालन हुने भन्दै आएपनि कर्मचारी व्यवस्थापनको अभावले अझै अनिश्चित नै रहेको देखिएको छ ।
नेपालमा रेलमा काम गर्ने दक्ष जनशक्तिको अभाव देखिएपछि तत्काल भारत माथि नै भर पर्नुपर्ने अवस्था छ । भारतीय पक्षले पनि नेपाल सरकारले कतिपय प्राविधिक विषयहरु मिलाउन नसकेका कारण रेल सञ्चालनमा ढिलाई हुने बताएको छ ।
भारत सरकारका रेल मन्त्री पियुष गोयलले नेपाल सरकारलाई रेल सञ्चालनको लागि पठाइएको जनशक्ति स्वीकृत नभएका कारण रेल सञ्चालनको समय निश्चित नभएको बताएका छन् । भारतीय जनता पार्टी बिहारबाट राज्यसभामा प्रतिनिधित्व गरिरहेका सांसद सुशिलकुमार मोदीले शुक्रवार उठाएको प्रश्नको जवाफ दिंदै मन्त्री गोयलले नेपाल सरकारले आवश्यक प्रक्रिया पुरा नगरेकाले रेल सञ्चालनमा ढिलाई भएको बताए ।
उनले रेल सञ्चालनका लागि मानक परिचालन प्रक्रिया (एसओपी) तयार गरी विदेश मन्त्रालयद्वारा नेपाल रेल्वेलाई टिप्पणीका लागि पठाइसकिएको जानकारी दिए । तर हालसम्म नेपालबाट कुनै प्रतिक्रिया नआएकोले कहिलेदेखि शुरु हुने भने निश्चित हुन नसकेको लिखित रुपमा जानकारी गराएका छन् ।
यता, बिहार सरकारका परिवहन मन्त्री शिला कुमारीले बिहारको जयनगरदेखि नेपालको कुर्थासम्म रेल सुविधा चाँडै सुरु हुने बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,‘मुख्यमन्त्री नितिश कुमारको निश्चय, सुलभ–सम्पर्कतामा एउटा महत्वपूर्ण काम पूरा भई जनतालाई समर्पित गर्न तयार छ । यातायात सुगम होस्, यो सरकारको प्राथमिकता मध्ये एक हो ।’
हुनत पछिल्लो साता नेपालका प्रधानमन्त्री केपी शर्मा ओली धनुषाको ढल्केवरमा एक कार्यक्रममा आएका बेला चाँडै नै रेल उद्घाटन गर्न जनकपुर आउने प्रतिबद्धता जनाएका थिए । तर भारतीय पक्षले जनशक्ति व्यवस्थापनको कारण कहिलेदेखि सञ्चालन हुने अनिश्चितता रहेको जनाएको छ ।
यता नेपाल सरकारले भने कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको जनाएको छ । औपचारिक रुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिक रुपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले सञ्चालनका लागि जिम्मेवारी लिन लागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए ।
कम्पनीसँगको समन्वयमा २६ जना प्राविधिक कर्मचारी ल्याउन लागिएको छ । रेल नियमित सञ्चालनका लागि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने गरी छलफल भइरहेको कम्पनीले जनाएको छ । भाडादर र टिकटका विषयमा यसअघि नै टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले बताए । कम्प्युटर लगायतका आवश्यक सामग्री खरिद भईसकेको र सेट गर्न बाँकी रहेको उनले जानकारी दिए । भाडादरका विषयमा कम्पनीले मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । बस लगायतका अरु सवारीसाधनको भाडादरमा चलाउन तयारी गरिएको उनले बताए । सामान्य सिटमा ३५ किमी रेलमार्ग यात्रा गर्न ७५ रुपैयाँ भाडादर तोकिएको छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्गमा रेल सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन ल्याएको थियो । सो रेलमा एक हजार २ सय देखि १ हजार ३ सय जनासम्म यात्रुले यात्रा गर्नसक्ने रेल विभागले जनाएको छ । नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा सञ्चालनमा थियो ।
कुर्थाबाट जयनगरसम्म ३५ किलोमिटर रेलमार्गको निर्माण कार्य गत वर्ष नै सकिएको थियो । कुर्थादेखि बर्दिबाससम्मको रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
प्रतिक्रिया