जनकपुरधाम । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा पास हुने व्यक्तिले अबदेखि १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन् ।
यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पुर्याएको छ । विभागले अब लिखित परीक्षा पास भएको व्यक्तिले १८ महिनासम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने जनाएको छ । विभागका निर्देशक लोकनाथ भुसालले एक विज्ञप्ति जारी गर्दै ट्रायल दिन पाउने १८ महिने प्रावधानको विषयमा जानकारी गराएका छन् ।
‘सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास भएको एक वर्षभित्र राजश्व तिर्नुपर्ने, राजश्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको छ’, विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विभागले सोही बमोजिम कार्य गर्न सबै यातायात व्यवस्था कार्यालयहरुसँग अनुरोध गरेको छ ।
प्रतिक्रिया