ताजा समाचार


प्रदेश २ : स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको टेण्डरमा आर्थिक चलखेल !

द रियल समाचार     २०७७ माघ २५, आईतवार, १९: ०१ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले टेण्डरमा कमिशनको चलखेल गरेको भन्दै पुनः एकपटक विवादमा तानिएको छ ।

सामाजिक विकास मन्त्रालयले ‘एचडियु’ कार्यक्रम अन्तर्गत आपूर्ति व्यवस्थापन केन्द्र मार्फत प्रदेशको ८ वटै जिल्लाका अस्पतालहरुमा स्वास्थ्य सुधार र कोभिड–१९ लाई ध्यानमा राखेर विभिन्न उपचार उपकरण तथा अन्य सामग्री खरिदका लागि टेण्डर आह्वान गरेको थियो ।

आईसियु बेड एण्ड एक्सेसरीज, हाई फ्लो नसल क्यानुअल, अक्सिजन हुड, पेसेन्ट मोनिटर, इसीजी मेशिन, इन्फ्युजन पम्प, सिरिन्ज पम्प, इमरजेन्सी क्रैश कार्ट, अक्सिजन सिलिण्डर, एचडिएल लगायतका सामग्री खरिदका लागि टेण्डर आह्वान गरिएको थियो । सुरुमा प्रत्येक जिल्लामा अलग अलग १५ दिने म्याद दिई टेण्डर आह्वान गरियो तर, पछि अनियमितता तथा कमिशनका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले स्वयं आठवटै जिल्लाका लागि गत पुस ९ गते सो टेण्डर एकै ठाउँमा आह्वान गरेको आरोप लागिरहेको छ ।

व्यवस्थापन केन्द्रले आह्वान गरेको टेण्डर लभ मेडिकल हल जलेश्वर, बजरंग ट्रेडर्स, जिएच मेडिहेल्थ कन्सर्न प्रा.लि. र ओम सर्जिकल कन्सर्न प्रा.लि.ले भरेको थियो । टेण्डर भरेकाहरुमध्ये सबैभन्दा बढी रकम उल्लेख गरेको लभ मेडिकललाई अनियमितता गर्ने हिसाबले टेण्डर दिइएको बजरंग ट्रेडर्सका सञ्चालक राजकुमार झाले आरोप लगाए । ९ करोडको सो टेण्डर ओम सर्जिकलले सबैभन्दा कम ४ करोड ५४ लाख ७६ हजार, जिएच मेडिहेल्थले ५ करोड ८५ लाख ४० हजार रुपैयाँमा भरेको थियो । तर टेण्डर भर्ने यी दूबै संस्थालाई कागजात अपुग रहेको भन्दै सुचीबाट हटाइएको थियो । तर आफ्नो सम्पूर्ण कागजात दुरुस्त भएपनि कमिशनका लागि तयार नभएकै कारण आफूलाई यो टेण्डर नदिइएको झाले बताए ।

बजरंग ट्रेडर्सले सो टेण्डर ६ करोड १४ लाख ४६ हजार ९ सय २५ र लभ मेडिकलले ७ करोड ६२ लाख ३० हजार रुपैयाँमा भरेको थियो । कम रकम उल्लेख रहेका ३ वटै संस्थालाई नदिई सबैभन्दा बढी रकम उल्लेख गरेको लभ मेडिकलसंग व्यवस्थापन केन्द्रले गत १९ गते स्वास्थ्य उपकरण तथा सामग्री खरिदका लागि सम्झौता गरेको पाइएको छ । अनियमितता तथा कमिशनकै कारण आफूलाई टेण्डर नदिई सबैभन्दा बढी रकम उल्लेख रहेको संस्थालाई सो टेण्डर दिइएको बजरंग ट्रेडर्सका सञ्चालकको आरोप छ ।

यता व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद यादवले आफूले सबै रीत पुर्याएर नै लभ मेडिकललाई टेण्डर उपलब्ध गराएको दाबी गरेका छन् । उनले बजरंग ट्रेडर्सलाई टेण्डर उपलब्ध नगराएकै कारण पूर्वाग्राही ढंगले आरोप लगाईरहेको बताए ।

एचडियु कार्यक्रम अन्तर्गत स्वास्थ्य सामग्री खरिदका लागि लभ मेडिकलसंग सम्झौता भईसकेपछि बजरंग ट्रेडर्सका सञ्चालक राजकुमार झाले उच्च अदालत जनकपुरमा प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र, केन्द्रका प्रमुख डा. प्रमोद यादव, लभ मेडिकल हल लगायतलाई विपक्षी बनाई उत्प्रेषण मुद्दा हालेको थियो ।

उच्च अदालत जनकपुरले गत माघ २१ गते सो को सुनवाई गरी अल्पकालिन अन्तरिम आदेश समेत जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top