पर्सा । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मुलुकलाई दुर्घटनातर्फ धकेलेको आरोप लगाएका छन् ।
आइतबार पर्साको वीरगञ्जमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै निधिले लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभा आवश्यक रहेको बताउँदै जनतालाई कुनैपनि हालतमा प्रतिनिधिसभा आवश्यक रहेको जिकिर गरे । उनले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर जनताको जनादेश एवं मतदाताको मतको अपमान गरेको आरोप लगाए ।
उनले भने,‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयन नै नेपाली काँग्रेसको मुख्य एजेण्डा हो । संसद पुनस्र्थापना भए पार्टीको १४ औं महाधिवेशन पहिले हुन्छ । तर निर्वाचन पहिले भए महाधिवेशन पछि हुनेछ ।’ वर्तमान परिस्थितीको समाधान प्रतिनिधिसभा रहेको जिकिर गर्दै निधिले संसद पुनस्र्थापना र निर्वाचनकै माध्यमले प्रतिनिधिसभाको स्थापना गर्नु दुबै विकल्पका लागि नेपाली काँग्रेस तयार हुनुपर्ने बताए ।
वडा सभापती सरजुग महतोको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका युवा नेता गगन थापाले प्रधानमन्त्री ओलीको प्रत्येक कदमको विश्लेषण गर्न जरुरी रहेको बताए । उनले भने,‘सीता माताको प्रदेशका कयौं नागरिकले नागरिकता पाएका छैनन्, तिनलाई नागरिकता दिउँ भन्दा प्रधानमन्त्री ओली कहिल्यै तयार हुनु भएन । तर आज भगवान रामलाई नागरिकता दिन लाग्नुभएको छ ।’
दुई वर्षअगाडि सांसारबाट लखेटिएकी एक महिलालाई स्वागत गर्न देश नै ठप्प पारेको भन्दै उनले भने,‘होलीवाइनको त्यत्रो काण्ड रच्दै गर्दा कहिल्यै पशुपति सम्झिनुभएन । अहिले रुद्राक्षको गह्रौं माला लगाएर पशुपतिको चौराहमा घुम्दै हिन्दु धर्म मान्ने तपाईं हाम्रो आस्थामा खेल्न खोज्दै हुनुहुन्छ ।’ प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै उनले अदालतले न्याय गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अन्य पार्टी परित्याग गरि करिव साढे तिन सयको संख्यामा नेता कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा नेतृ चित्रलेखा यादव, युवा नेता अजय सुवेदीलगायतकाहरुले समेत आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया