जनकपुरधाम । प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा.प्रमोद यादवको सरुवा भईसकेपनि उनी अहिलेसम्म त्यहाँबाट रमाना लिएका छैनन् ।
गत भदौ ३० गते उनको सरुवा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सामाजिक विकास मन्त्रालयमा गरेको भएपनि अहिलेसम्म डा.यादव त्यहाँ हाजिर हुन गएका छैनन् । स्रोतका अनुसार उनलाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आर्थिक लाभ भईरहेकोले उनी त्यहाँबाट सरुवा हुन मानिरहेका छैनन् । त्यसैले उनी सरुवा भएको ५ महिना बितेपनि अहिलेसम्म हाजिर नभएका हुन् ।
निर्देशक डा.यादवको सरुवा गत भदौ ३० गतेमा भई सो स्थानमा नयाँ निर्देशकको रुपमा डा.राजिव झालाई पठाईएपनि यादवले रमाना नबुझी अहिलेपनि आपूर्ति केन्द्रमै काम गरिरहेको र अनुचित लाभ लिने मनसायले उनी त्यहाँबाट सरुवा हुन नमानेको स्रोतले जनाएको छ ।
यस सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव यामप्रसाद भुसालले सामाजिक विकास मन्त्रालयको सिफारिसको आधारमा नै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा.प्रमोद यादवको सरुवाका लागि पत्र पठाएको बताए । उनले भने,‘डा.यादवको सरुवा भईसकेपछि उनलाई त्यहाँबाट रमाना लिनुपर्नेमा अहिलेसम्म सामाजिक विकास मन्त्रालयले उनलाई किन त्यहाँबाट बोलाएन त्यो कुरा मलाई थाहा छैन् । हामीलाई सामाजिक विकास मन्त्रालयले नै उनको सरुवा गर्न सिफारिस गरेको थियो, तर उनी कुन स्वार्थले त्यहाँबाट रमाना लिनुभएन त्यो कुरा वहाँलाई नै सोध्नुस ।’
स्रोतले दिएको जानकारी अनुसार आपूर्ति केन्द्रका निर्देशक डा.यादवलाई सरुवा गर्न सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयलाई सिफारिस गरेपछि डा.यादवले सामाजिक विकास मन्त्री नवलकिशोर साहसँग ठुलै रकमको लेनदेन गरेपछि उनले मुख्यमन्त्री कार्यालयको आदेश समेत मानेन् । त्यसैले अहिलेसम्म पनि उनी त्यहाँबाट रमाना लिएका छैनन् । डा.यादव विगत एक बर्षदेखि आपूर्ति केन्द्रको निर्देशक भई कार्यरत रहेका छन् ।
यता, निर्देशक डा.यादवले आफ्नो सरुवा भईसकेको स्वीकार गरेपनि सामाजिक विकास मन्त्रालयमा निर्देशकको पद नै नरहेकोले आफूले यहाँबाट रमाना नलिएको बताए । उनले मुख्यमन्त्रीको कार्यालयले सरुवाका लागि लेखेको पत्र नै गलत रहेको जिकिर समेत गरे ।
ज्ञातव्य होस, प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशक नभएपछि अहिलेपनि निमित्त निर्देशककै भरमा कार्यालय सञ्चालन भईरहेको छ ।
प्रतिक्रिया