जनकपुरधाम । भनिन्छ, श्रीमान् सुख दुःखका साथी हुन्, तर अनिताको जीवनमा त्यस्तो भएन । उनलाई आफ्नै श्रीमानले सासु ससुरासँग मिलेर शारीरिक यातना दिई हदैसम्मको पीडा दिनसम्म पछाडी परेनन् । अनितालाई श्रीमानले नै आगोबाट पोलेर मरनासन्न हुने गरी घाइते बनाउँदा छिमेकका मानिसहरुले अस्पताल पुर्याएपछि उनी अर्को जीवन पाउन सफल भइन् ।
प्रदेश नम्बर २ सरकारले ‘सुरक्षित बेटी अभियान’ र ‘बेटी बचाउ,बेटी पढाउ’ अभियान सुरु गरेपनि यस प्रदेशमा महिला हिंसाको घटना भने अत्यधिक हुने गरेको छ । सरकारी अभियान अहिले बालुवामा पानी खन्याए सरह भएको छ । यहाँ राजनीतिक दलको आडमा महिला हिंसाको घटना गराउनेहरुले उल्टै संरक्षण पाउने गरेका छन् । समाजमा घरेलु हिंसालाई कानुनले अपराध मानेपनि सामाजिक रुपमा घरेलु हिंसालाई अपराध स्विकारिंदैन ।
३ वर्ष अगाडी सर्लाही चक्रघटा गाउँपालिका वडा नम्बर–६ पररियाकी २५ बर्षीया अनिता देवी साहको विवाह महोत्तरी बलवा नगरपालिका वडा नम्बर–६ बनौटका मनिष साहसँग भएको थियो । उनको बिहेपनि बडो तामझामका साथ भयो । बुवा विष्णुदेव साहले छोरीको बिहेमा दाइजोका साथै जन्तीको स्वागतमा गरी २५ लाखभन्दा बढी खर्च गरे । अनिता पनि औंधी खुशी थिइन् आफ्नो भविष्यका सपनाहरु सोेंचेर । अनिताले कहिल्यै सोचेकी पनि थिइनन् कि, आफ्नै श्रीमानले यति हदैसम्मको पीडा देलान, तर नसोचेकै कुरा भयो ।
बिहेको केही दिन नबित्दै अनितालाई श्रीमान मनिषले शारीरिक यातना दिन सुरु गरे । उनले सोंचेका सपनाहरु सबै चकनाचुर हुँदै गयो । उनले आफ्नो श्रीमान् अर्कै महिलासंगको प्रेम सम्बन्धमा रहेको पनि थाहा पाइन् । त्यही कारण होला श्रीमानले आफूलाई थप दहेज ल्याउन भन्दै कुटपिट गर्न थाले,अनिताले रुँदै भनिन् । यो क्रम फेरी लागातार चलिरह्यो, उनले आँशु पुछ्दै भनिन्,‘मलाई दाम्पत्य जीवन बिताउनु थियो, त्यसैले श्रीमानले दिंदै आएको पीडा आफू सहेर बसेंं ।’
तर उनलाई पछि दिन दिनै पीडा दिने क्रम बढी रह्यो, कहिल्यै हातखुट्टा बाँधेर कुटपिट गरिन्थ्यो त कहिल्यै श्रीमान र सासु ससुरा मिलेर आगोले पोल्ने गर्थे । अन्त्यमा पीडा सह्न नसकेर अनिता ति सबै पीडा आफ्नो माइतलाई सुनाइन् । अहिले अनिता आफ्नै श्रीमानबिरुद्ध लडिरहेकी छिन् । अनिता फेरी श्रीमानबिरुद्ध सजाय दिलाउनका लागि होइन, आफ्नो दाम्पत्य जिवन बचाउनका लागि लडिरहेकी छिन् । उनी भन्छिन्,‘श्रीमान अर्कै महिलालाई लिएर फरार भएको कुरो मलाई थाहा छ तर के गँरु मेरो भाग्य नै खोटोे पर्यो । म आफ्नो श्रीमान् अर्कै महिला लिएर फरार भएपनि उनीसँगै बस्ने मेरो धोको छ । तर साथ दिने कुनै निकाय छैन ।’ अनिता अहिले काँखमा २ वर्षे छोरालाई लिएर ठाउँठाउँमा भौतारिरहेकी छिन् । समाजका भरभलादमी, कानून पालना गराउने निकाय कोही साथ नदिएपछि आफ्नो घर छँदा छँदै उनी ओरेक नेपालको सेफहाउसमा शरण लिन बाध्य भएकी छिन् ।
अनितालाई यातना दिने क्रम यसरी सुरु भयो
अनिताको विवाह मनिषसंग भएपछि केही दिन सबै ठिकठाक नै थियो । उनको बुवाले दाइजोमा मोटै रकम खर्च गरेका थिए, ज्वाईलाई महँगो मोटरसाइकल पनि किनेर दिए । केही महिनासम्म त ठिकै चल्यो । तर एकाएक सुरु भयो यातना दिने क्रम, थप दाइजो ल्याउनका लागि । सुरुमा त दाइजो ल्याउ अनि मात्रै घरमा बस्न दिन्छु भन्थे, पछि तिमीभन्दा सुन्दर केटीसँग दोश्रो विवाह गरिसकेको छु भन्दै तिमी यहाँबाट जाउ भनेर घरबाटै निकाल्ने प्रयास गरे,अनिताले भकानिदै भनिन् । उनी भन्छिन्,‘श्रीमान् मात्र होइन सासु ससुरा समेतले हात खुट्टा बाँधि मुखमा कपडा कोंचेर पटक पटक कुटपिट गरे ।’
अन्त्यमा सह्न नसकेर उनी न्यायका लागि गत असार महिनामा ईलाका प्रहरी कार्यालय बनौटा र जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिइन् । त्यसपछि जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यद्वय सुरिता साह र जानकी शरण साहको उपस्थितिमा अबदेखि यातना नदिने र खुशी खुशी घरमा बस्ने गरी सहमति पनि भयो । तर त्यो सहमति कागजमा गरिएको हस्ताक्षरको मसि सुक्न नपाउँदै टुट्यो । अनिता फेरि जिल्ला प्रहरी कार्यालयको महिला सेल र ईलाका प्रहरी कार्यालय बनौटा पुगिन् । तर कुनै सुनवाई भएन । अनिताले भनिन्,‘प्रहरी कार्यालयमा उजुरी दिए तर कुनै सुनुवाई हुन सकेको छैन, के भयो भनेर सोध्न जाँदा प्रहरीले उल्टै हप्काएर पठाइदियो ।’
अनिताका बुवा विष्णुदेवले सहमति कार्यान्वयन र छोरीको जीवन रक्षाका लागि पटक पटक बनौटा प्रहरी कार्यालयमा आग्रह गरेपछि त्यहाँका सई रविन्द्र सिंहले अब यहाँ रहेर समस्या समाधान हुँदैन भन्दै दुई साताअघि उनीहरुलाई जनकपुर बस्न पठाई दिए । मनिषले अनितालाई भ्रमरपुरा चौक नजिक एक डेरामा राखेर दुई दिन पछि सम्पूर्ण गरगहना र मोबाइल समेत लिई फरार भए । अन्त्यमा अनिताले फेरी बुवालाई जनकपुरधाम बोलाइन् ।
छोरी अनितालाई लिएर पुनः बनौटा र जिल्ला प्रहरी कार्यालयमा सहयोगका लागि पुग्दा प्रहरीले अब हामी के गरौं, जहाँ जानुछ जानुस, हामी केही गर्न सक्दैनौं भन्दै उल्टै हप्काउने गरेको विष्णुदेवले पीडा सुनाए । उनले कानूनको पालना र सुरक्षा दिने निकाय नै असहयोग गर्न थालेपछि अब कहाँ जाने, प्रश्न गरे ?
अहिले अनितालाई अधिवक्ता रेखा दत्तको सहयोगमा सुरक्षाका लागि ओरेक नेपालको सेफ हाउसमा राखिएको छ । घटना बारे ईलाका प्रहरी कार्यालय बनौटाका प्रमुख सई रविन्द्र सिंहसंग बुझ्दा उनले भने,‘हामीले पटक पटक सहमति गराउने प्रयास गरेकै हौँ, पछिल्लो पटक गत साउन महिनामा एसपी साहबकै उपस्थितिमा अबदेखि यातना नदिने भनी लिखित सहमति नै भयो । त्यो सहमति कार्यान्वयन गराउने प्रयास पनि गर्यौं, तर हुन सकेन ।’
प्रतिक्रिया