बारा । प्रदेश २ को बारामा स्रोत नखुलेको ४९ लाख रुपैयाँ सहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी ग्राम पञ्चायत हरपुर घोडासहन बस्ने २६ वर्षीय अरविन्द महतो र १४ वर्षीय एक बालक रहेका छन् ।जिल्लाको फेटा गाउँपालिका वडा नम्बर–५ जोतपुरमा चेकजाँचको क्रममास्रोत नखुलेको ४९ लाख रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
उनीहरुको साथबाट १ हजार रुपैयाँको १ हजार २ सय २३ थान, ५ सय रुपैयाँको ५ हजार ७ सय ४ थान, १ सय रुपैयाँको १२ सय थान र ५० रुपैयाँको १ सय थान गरी जम्मा ४९ लाख रुपैयाँ बरामद भएको उनले बताए । जोतपुरस्थित दशगजा क्षेत्रमा बिआर ०५ वाई ६५१७ नम्बरको भारतीय मोटरसाइकलमा नेपाल आउँदै गरेका मोटरसाइकल चालक भारत महतो र पछाडी बस्ने सो बालकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया