काठमाण्डौ । नेपालमा कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सम्पन्न भएको छ ।
माघ १४ गतेदेखि २४ गतेसम्म पहिलो चरणमा देशभर १ लाख ८४ हजार जनाले खोप लगाएका छन् । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज ‘कोभिशिल्ड’ खोप मध्ये पहिलो चरणमा देशभरका २०१ खोप केन्द्रबाट १ लाख ८४ हजार ८५७ जनालाई लगाइएको छ ।
प्रदेश नम्बर १ मा २४ हजार २२४, प्रदेश नम्बर २ मा २५ हजार ६३७, बागमती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा ९ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुनै अवाञ्छित घटना नभई पहिलो चरणको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । अब दोस्रो चरणमा पत्रकार र कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई खोप लगाइने प्रवक्ता गौतमले बताए ।
सरकारले पहिलो चरणमा कूल जनसंख्याको ३ प्रतिशतलाई खोप लगाएकोमध्ये स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, शव वाहन चालक, स्वास्थ्य स्वयंसेविकालगायतका थिए ।
नेपालमा कूल जनसंख्याको ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको योजना छ ।
प्रतिक्रिया