जनकपुरधाम । नक्कली नोटको कारोवार गर्ने दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला थाना बेला ग्रामपञ्चायत नर्गा लक्ष्मीपुर वडा नं. २ बस्ने ३५ वर्षीय साविर अन्सारी र थाना सुरसण्ड ग्रामपञ्चायत पटनपुरा वडा नं. १४ का ४२ वर्षीय जियाउल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।
दुबैजनालाई गोप्य सूचनाको आधारमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. १ स्थित रामानन्दन विशेश्वर महेन्द्र क्याम्पस अगाडीबाट नियन्त्रणमा लिइएको प्रवक्ता विष्टले जानकारी दिए । २ नं. प्रदेश प्रहरी प्रहरी कार्यालय जनकपुर र महोत्तरीको अस्थाई प्रहरी पोष्ट जलेश्वरबाट खटेको संयुक्त प्रहरी टोलीले रामानन्दन विशेश्वर महेन्द्र क्याम्पस अगाडी भारतीय नम्बर प्लेटको गाडी चेकजाचँ गर्दा अबैध नक्कली नोटहरू फेला परेको प्रहरीले जनाएको छ ।
दुबैजनाको साथबाट भारतीय नम्बर प्लेटको गाडी सहित नक्कली जस्तो देखिने ङ २९–८०१९१२ नम्बरको ५ सयको १७ थान नोट, ङ ६५–७६३८८९ नम्बरको ६ थान, च ४०–१५८३०२ नम्बरको ४ थान नोट सहित १३ हजार ५ सय नक्कली रुपैयाँ, नेपाली १६ हजार र भारतीय पहिचान पत्र बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई हिरासतमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
तस्बिर : सांकेतिक
प्रतिक्रिया