ताजा समाचार


मुलुक प्रतिगमनतर्फ धकेलिनुमा मधेशी जनता पनि दोषी : उपसभापति निधि

द रियल समाचार     २०७७ माघ २४, शनिबार, १६: ३५ मा प्रकाशित




जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुक प्रतिगमनतर्फ धकेलिनुमा मधेशी जनता पनि दोषी रहेको बताएका छन् ।

शनिबार संसद विघटन बिरुद्ध नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुद्वारा जनकपुरधाममा आयोजित विरोध प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै उपसभापति निधिले मुलुक अहिले प्रतिगमन तर्फ धकेलिंदा संघीयता र संविधान समाप्त हुने परिस्थितिमा मधेशी जनता पनि दोषी रहेको जिकिर गरे ।

उनले भने,‘नेपाली काँग्रेसलाई पराजित गरिएको परिणामका कारण आज केपी ओली जस्ता निरंकुशले आफ्ना पार्टीगत विवादका कारण मुलुकलाई प्रतिगमनतर्फ धकेलेका छन् । जनताले आज काँग्रेसलाई जिताएको भए यस्तो परिस्थिति आउने थिएन ।’ ओली नेतृत्वको सरकार राजतन्त्र फर्काउन तर्फ लागेको बताउँदै उनले नेपाली काँग्रेसले ओलीको त्यो सपना पुरा हुन नदिने जिकिर समेत गरे । राजतन्त्र फर्काउन खोज्नेलाई नेपाली जनताले लखेटेर भगाउने उनले दाबी गरे ।

माघ १३ गते बसेको काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकले संघर्षका थप कार्यक्रमहरु घोषणा गरेअनुरुप आज पार्टीका १८ वटा शुभेच्छुक संस्थाहरुले विरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेस धनुषाको पार्टी कार्यालयबाट निस्केको जुलुस क्याम्पसचोक, मुरलीचोक, रामचोक हुँदै जनकचोकमा पुगेको थियो ।

प्रदर्शनमा सहभागीहरुले संघीय शिक्षा ऐन खारेज गर, विधिको शासन कायम गर, मानवअधिकारको रक्षा गर, सबै श्रमीकहरुको स्थानीयतहमा पञ्जीकरण गर, सबैलाई सामाजिक सुरक्षा लागु गरलगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । यसअघि माघ १९ गते नेपाली काँग्रेसका भातृ संगठन नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल मुस्लिम संघलगायतका संगठनहरुले वृहत विरोध प्रदर्शन गरेको थियो भने पुस १३ गते १६५ निर्वाचन क्षेत्र, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७५३ वटै पालिका र माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

फागुन ३ गते नेपाली काँग्रेसका जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top