जनकपुरधाम । संसद विघटन बिरुद्ध नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले आज जनकपुरधाममा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ ।
माघ १३ गते बसेको काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकले संघर्षका थप कार्यक्रमहरु घोषणा गरेअनुरुप आज पार्टीका १८ वटा शुभेच्छुक संस्थाहरुले विरोध प्रदर्शन गरेको हो ।
नेपाली काँग्रेसको पार्टी कार्यालयबाट निस्केको जुलुस क्याम्पसचोक, मुरलीचोक, रामचोक हुँदै जनकचोकमा पुगेको छ ।प्रदर्शनमा सहभागीहरुले पेशाकर्मीलाई बनाइयो आहत महामारीमा पनि दिइएन राहत, संघीय शिक्षा ऐन खारेज गर, विधिको शासन कायम गर, मानवअधिकारको रक्षा गर, सबै श्रमीकहरुको स्थानीयतहमा पञ्जीकरण गर, सबैलाई सामाजिक सुरक्षा लागु गर, बेरोजगार बिमा लागु गर, पेशाकर्मीले चिन्यो वर्तमान सरकार, महामारीमा पनि भ्रष्टाचार’ लेखेका प्लेकार्ड बोकेका थिए ।
उनीहरुले हातमा कालोपट्टी समेत बाँधेका थिए । जनकचोकमा आयोजना हुने कोणसभालाई नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सम्बोधन गर्नेछन् ।
यसअघि माघ १९ गते नेपाली काँग्रेसका भातृ संगठन नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल मुस्लिम संघलगायतका संगठनहरुले वृहत विरोध प्रदर्शन गरेको थियो भने पुस १३ गते १६५ निर्वाचन क्षेत्र, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७५३ वटै पालिका र माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।
अब फागुन ३ गते नेपाली काँग्रेसका जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने बताइएको छ ।
प्रतिक्रिया