एजेन्सी । म्यानमारमा सेनाको ‘कू’विरुद्ध आम नागरिक आन्दोलनमा होमिन थालेका छन् ।
सेनाले सत्ता कब्जा गरेको घटनाका विरुद्ध आम नागरिकसँगै शिक्षक, विद्यार्थी पनि सडकमा उत्रिएका छन् । म्यानमारको सबैभन्दा ठूलो सहर यांगूनको एक विश्वविद्यालयमा प्रदर्शन गर्दै शिक्षक, विद्यार्थीले जेलमा बन्द गरिएकी नेता आङ सान सू चीसहितका नेतालाई रिहाइको माग गर्दै उनीहरुको समर्थनमा नारा लगाएका छन् ।
प्रदर्शनकारीले आफ्नो कपडा र प्लेकार्डमा रातो रंगको रिबन लगाएका थिए, जुन सू चीको पार्टीको चिन्हको रंग हो । सेनाले देशकी सर्वोच्च नेता आङ सान सू ची सहितका नेताहरुलाई गिरफ्तार गरेर सत्ता कब्जा गरेको घटनालाई लिएर आन्दोलन उग्र बन्दै गएको छ । सोमबार सेनाले गरेको सत्ता कब्जापछि सू चीसहितका नेता सेनाको हिरासतमा छन् । यसअघि सेनाले नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीका अन्य नेतालाई पक्राउ गरिसकेको थियो ।
सोमवारदेखि नेतृ सू ची सार्वजनिक रुपमा देखिएकी छैनन् । एनएलडीका एक अधिकारीका अनुसार उनलाई सेनाले घरमै नजरबन्दमा राखेको छ । बर्माका नामले पनि चिनिने म्यानमार सेनाले सत्ता कब्जा गरेपछि निकै शान्त अवस्थामा भए पनि शुक्रबार यहाँ शिक्षक विद्यार्थीले ‘कू’का विरुद्धमा प्रदर्शन र प्रतिकात्मक विरोध गरेका छन् । विस्तारै सेनाको कदमविरुद्ध जनमत बढ्दै गएको छ ।
प्रतिक्रिया