काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
शनिबार विहान आफ्नो ट्वीटर ह्यान्डलमा देउवाले लेखेका छन्,‘बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खवरले निकै मर्माहित भएको छु । उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु ।’
दोगडाकेदार–३ स्थित सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा पढ्ने उनी २१ गते विद्यालय गएपछि घर फर्किनन् । विद्यालयबाट फर्कंदा उनको घर पुग्न २० मिनेट पैदल दूरी बाँकी रहेको लवलेक जंगलमा २२ गते बीभत्स अवस्थामा भट्टको शव भेटिएको थियो ।
उनको बलात्कारपछि हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । प्रहरीले घटना शंकास्पद भएपनि पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।
प्रतिक्रिया