जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रिय उपसभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभा आवश्यक रहेको बताएका छन् ।
धनुषाको विदेह नगरपालिका वडा नम्बर–२ दुहवीमा नेपाली काँग्रेसको वडा पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै निधिले जनतालाई कुनैपनि हालतमा प्रतिनिधिसभा आवश्यक रहेको बताए । उनले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर जनताको जनादेश एवं मतदाताको मतको अपमान गरेको जिकिर समेत गरे ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयन नै नेपाली काँग्रेसको मुख्य एजेण्डा रहेको बताए । नेपाली काँग्रेसले यसअघि १४औँ महाधिवेशनका लागि गरेको तयारी अहिलेलाई थाँती राखेर निर्वाचनमा लाग्नु आफ्नो पहिलो प्राथमिकतामा राखेको उनले बताए । उनले भने,‘संसद पुनस्र्थापना भए पार्टीको १४ औं महाधिवेशन पहिले हुन्छ । तर निर्वाचन पहिले भए महाधिवेशन पछि हुनेछ ।’ वर्तमान परिस्थितीको समाधान प्रतिनिधिसभा रहेको जिकिर गर्दै निधिले संसद पुनस्र्थापना र निर्वाचनकै माध्यमले प्रतिनिधिसभाको स्थापना गर्नु दुबै विकल्पका लागि नेपाली काँग्रेस तयार हुनुपर्ने बताए ।
विदेह नगरपालिका वडा नम्बर–२ का वडा सभापति राजेन्द्र झाको अध्यक्षतामा आयोजित वडा कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व कृषिमन्त्री राम कृष्ण यादवले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकलाई दुर्घटनातर्फ धकेलेको आरोप लगाए ।
कार्यक्रममा पूर्व राष्ट्रियसभा सदस्य मुक्ता कुमारी यादव, पार्टी सभापति महेश शंकर गिरी, काँग्रेस नेता गणेश तिवारी, बिजेता झा, क्षेत्रिय सभापति कन्हैया लाल कर्ण, धिरेन्द्र मोहन झा, बिद्यार्थी नेता सुजित मिश्रलगायतकाहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया